arrow

ज्यान मार्ने उद्योगका 'भोटे' पक्राउ

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
pakrau-new.jpeg

तनहुँ । ज्यान मार्ने उद्योगमा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ घर भई पोखरा महानगरपालिका–११ फूलबारी बस्ने २४ वर्षीय भोटे भन्ने विजय पुन रहेका छन् ।

पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा पोखरा–११ फूलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउ परेका निजलाई आज तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

विसं २०७४ फागुन ९ गते जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित पीपलटारमा सञ्जीव राईसमेतका व्यक्तिलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको घटनामा लक्ष्मी राईसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मिलन पौडेलसमेत भएको ज्यान मार्ने उद्योग मुद्दामा पुन फरार रहेका थिए ।

त्यस्तै प्रहरीले यात्रुवाहक बसबाट चोरीको धनमालसहित एक जनालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलाबारीमा आकस्मिक जाँचका क्रममा लु१ख ८३७४ नं को बसबाट गोरखा गण्डकी गाउँपालिका–२ फुर्केडाँडा बस्ने २३ वर्षीय सुवास चेपाङ पक्राउ परेका हुन् ।

भैरहवाबाट पोखरा जाँदै गरेको बसमा सवार चेपाङले साथमा लिएको दुई वटा झोला जाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नगद ६९ हजार २५० र ल्यापटपसहित चोरी अपराधमा प्रयोग हुने फलामको छिनोलगायत बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।

चेपाङले उक्त नगदसहितको धनमाल आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा रहेको कट्टेल इन्टरप्राइजेजबाट चोरी गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका चेपाङविरुद्ध चोरी मुद्दामा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यसैबीच आँबुखैरेनी गाउँपालिका–४ मस्र्याङ्दी नदीमा आज एक शव फेला परेको छ । नदीको भङ्गालोमा नाम, थर र वतन खुल्न नसकेको अन्दाजी ३०-३५ वर्ष उमेरका पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ