गृह सचिव राईलाई टाउको दुखेको कोइराला निवास, ' किन चाहियो थोत्रो घरलाई सुरक्षाकर्मी '
लोकतन्त्रका विम्बहरु भत्काउन उद्यत हुँदै केपी सरकार
प्रकाशित २०७६ जेठ २१ मंगलबार
674
Shares
काठमाडौं। नेपालको लोकतान्त्रिक आन्दोलनको मियोको रुपमा रहँदै आयो कोइराला निवास । तत्कालिन राणा प्रधानमन्त्रीलाई फाटेको कपडा पठाएर आम नागरिकको हैसियत बताउने दुस्साहस गर्ने कृष्ण प्रसाद कोइराला अनि उनका सन्तानका रुपमा ३ छोराहरुले नेपालको राजनीतिमा छोडेको प्रभाव आम नेपाली जो कोहिलाई पनि ज्ञात नै छ।
राणा शासन हटाउने क्रान्तिको नेतृत्व उनै कृष्ण प्रसाद कोइरालाका छोरा विपीले गरेका थिए। मजदुर आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला पनि देशको प्रधानमन्त्री भए। जस्ले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर नेपाललाई गणतन्त्रको यात्रामा लाने नेतृत्व गरे। मातृका प्रसाद कोइरालाले पनि एक कालखण्डमा प्रधानमन्त्री भएर देशको नेतृत्व सम्हाले।
कृष्ण प्रसाद कोइरालाका तीन छोराहरु मात्र होइन कम्युनिष्ट आन्दोलनमा चिनिएका कैयन नामहरु पनि प्रत्यक्ष र परोक्ष रुपमा कोइराला निवास विराटनगरसँग जोडिएका छन्। स्वतन्त्रताप्रेमी र लोकतन्त्रवादीहरुको लागि कोइराला निवास आफ्नो दोस्रो घर थियो। त्यहाँ पुग्ने जो कोहि पनि कहिल्यै भोकै फर्कनु परेन न निराश भएर फर्कनु पर्यो। कार्यकर्ताको लागि चौविसै घण्टा खुल्ला हुने कोइराला निवासले नै राणा शासन ढलाउने आन्दोलनको नेतृत्व गरेको साक्षी भयो। पञ्चायत ढलाउने रणनीति बन्दै गर्दा मात्र नभइ ढलाउने आन्दोलनको पनि साक्षी भयो। गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा भएको राजतन्त्र विरोधी आन्दोलनको पनि नेतृत्व गर्दा सदा झै साक्षी रह्यो कोइराला निवास।
नेपालको ३ ठूला आन्दोलनको नेतृत्व गर्ने नेताहरुको निवास पटक पटक सत्ताको नजरमा विझाउने गर्दै आएको थियो। कहिले बिद्रोहीको नजरमा पनि पर्यो। सत्तासँग बिद्रोह गर्न हिडेको तत्कालिन नेकपा माओवादीले यहि कोइराला निवासमा ०५४ सालमा बम हान्यो। कोइराला निवासमै बम हानेपछि त्यसबाट उत्पन्न हुने प्रभाव तत्कालिन माओवादीले राम्ररी बुझेको थियो। माओवादीले त्यसको प्रचार राम्रै पायो। तत्कालिन सत्तारुढ कांग्रेस सभापतिको निवासमा बम हानिएपछि सरकारले तत्काल कोइराला निवासमा सुरक्षाकर्मी राख्ने निर्णय गर्यो। राजाको प्रत्यक्ष शासनकालमा पनि ति सुरक्षाकर्मी हटेनन्।
माओवादी मूलधारमा आएर गणतन्त्र स्थापना पछि पनि शसस्त्र प्रहरी बलको एउटा टोली असईको कमाण्डमा निवासको सुरक्षामा रहँदै आएको थियो। नेपालको राजनीतिको पटक पटकको निर्णायक चरणमा नेतृत्व दिएको कोइराला निवास आजका दिनमा पनि विराटनगर पुग्ने धेरैको भ्रमण गर्ने स्थल भएको छ। शैक्षिक भ्रमण हुने गरेको छ। राजनीतिप्रति चासो राख्नेहरु पनि त्यहाँ पुग्ने गर्छन।
कोइराला निवास पुरानो भइसकेको छ। निवासका दायाँवायाँ अन्य घर र संरचनाहरु पनि बनेका छन्। मूलघर भने पहिलाकै स्वरुपमा छ। केहि कोठाहरु गिरिजाप्रसादको पालामा थपिएपनि कृष्ण प्रसाद कोइराला, विपी कोइराला, गिरिजाप्रसाद कोइराला, नोना कोइरालाहरुले बसेको, राजनीतिक नेतृत्व गरेको, उनीहरुले छलफल गर्ने, भेटघाट गर्ने ठाउँ भन्दै अहिले पनि चासोका साथ आगन्तुकहरु त्यहाँ जिज्ञासाका साथ घुम्न जाने गर्दै आएका छन्। निसावका कोठाहरु अहिले पनि खुल्ला नै रहँदै आएका छन्।
गिरिजाप्रसादको निधनपछि खुल्ला संग्रहालयको रुपमा रहेको कोइराला निवासमा पुर्ख्यौली विरासत धान्नेगरि डा शेखर कोइराला रहँदै आएका छन्। काठमाडौं विराटनगर गरिरहने शेखर पनि विराटनगरको कोइराला निकासको साख र गर्विलो इतिहास पुस्तान्तरण गर्दै जानुपर्छ भन्ने सोचमा देखिन्छन्। सायद सरकारले पनि यहि भएर पनि होला माओवादी मूलधारमा आइसकेपछि पनि, गिरिजाप्रसादको निधन भइसकेपछि पनि त्यहाँ रहेका सुरक्षाकर्मीलाई हटाएको थिएन। एक भेटमा शेखरले भनेका थिए निवास त पुरानो भइसकेको छ तर पनि यो निवासले लोकतान्त्रिक आन्दोलनलागि गरेको योगदान पुस्तान्तरण हुँदै जाओस भन्ने सोच छ। यसका लागि हामीले गर्न सक्ने सम्मको योगदान गर्दै जानेछौ।
देशमा केपी ओली नेतृत्वको सरकार छ। यहि सरकारले देशका महत्वपूर्ण ३ आन्दोलनको नेतृत्व गरेको कोइराला निवासबाट केहि संख्यामा रहेको सुरक्षाकर्मी हटाएर क्रान्तिकारी काम गरेको छ। निवासको सुरक्षा बाहेक अन्य काममा प्रयोग नभएपनि असईको कमाण्डमा रहेका ७ जना सुरक्षाकर्मीलाई फिर्ता गरिएको छ। सरकारले सुरक्षाकर्मी फिर्ता बोलाइएको घटना समान्य भएपनि लोकतन्त्रको विम्वको रुपमा रहेको कोइराला निवासप्रति सरकारको नियत यसबाट प्रष्टिएको छ। सुरक्षाकर्मी हटेको विषय प्राविधिक त्रुटी भनेर शसस्त्र प्रहरी बलका तर्फबाट जवाफ दिइएपनि त्रुटी सच्याउन भने गृह मन्त्रालयको आदेश कुरिरहेका छन् बलका प्रमुख शैलेन्द्र खनाल। प्रधानमन्त्री केपी ओलीले सो घटनाको विषयमा चासो राखेपनि यसलाई कांग्रेससँग गरिने वार्गेनिङ टुल बनाउन खोजिएको भन्ने आशंका गरिएको छ।
प्रधानमन्त्री चासो राख्ने, गृहमन्त्री गल्ती भएको बताउने तर सुरक्षाकर्मी हट्नु सबैले अनौठो मानेका छन्। यस प्रकरणलाई खोतल्दै जाँदा गृहसचिव प्रेम राईतर्फ सबैको औंला तेर्सिएको छ। उनले निवासमा सुरक्षाकर्मी हटाउने विषयमा गरेको टिप्पणी अहिले कांग्रेसजनमा चर्चामा छ। कोइरालाहरुको त्यो थोत्रो घरलाई किन चाहियो सुरक्षाकर्मी भन्दै सचिव राईले फिर्ता गर्न आदेश गरेको गृह प्रसासन हुँदै शसस्त्र प्रहरी मुख्यालयसम्म व्याप्त छ।
शसस्त्रका प्रमुख राई अहिले पनि गृहबाट एक फोन मात्र आएपनि सुरक्षाकर्मी फिर्ता सुरक्षामा खटाउने तयारीमा रहेको शसस्त्र स्रोत बताउँछ। तर राई टसको सम नहुँदा निवास अहिले २१ बर्षपछि सुरक्षाकर्मी विहिन भएको छ। तर के राई एक्लैले यो निर्णय लिन सके की उनलाई देखाएर सरकारले कांग्रेससँग वार्गेनिङ गर्न सुरक्षाकर्मी फिर्ता पठायो यो अहिले चासोको विषय भएको छ। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नामको श्वासप्रश्वास रोगको अस्पताल र शुसिल कोइरालाको नामको क्यान्सर अस्पतालको सन्दर्भमा विवाद निकालेर आफ्नो नियत प्रष्ट पारिसकेको केपी ओली सरकार कोइराला निवासबाट सुरक्षाकर्मी निकालेर आफ्नो खराव नियतलाई अझ उजागर गर्दै आएको छ, लोकतन्त्रका विम्बहरु भत्काउन लागिपरेको छ।