शशांकले भने 'अर्थमन्त्रीज्यू, आत्मा साक्षी राखेर भन्नुस् त यो बजेटले समृद्धि ल्याउँछ ?'
प्रकाशित २०७६ जेठ २१ मंगलबार
758
Shares
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले यो बजेटले आर्थिक समृद्धि नल्याउने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री कोइरालाले यो बजेट गलत तथ्यांक प्रस्तुत गरेर ढाकछोप गरेर ल्याइएको भन्दै यसले अनुशासित र दीगो आधार खडा गर्न नसक्ने बताएका हुन् ।
'अर्थमन्त्रीज्यू, क्षणिक रुपले छरपष्ट कार्यक्रम ल्याउनुभयो, आत्मा साक्षी राखेर भन्नुस् त के यो बजेटले आर्थिक समृद्धिको आधार तय गर्छ रु अर्को वर्ष पनि फेरि गलत तथ्यांक प्रस्तुत गरेर प्रवृत्ति ढाकछोप गर्नुपर्ने स्थिति आउने भयो । अनुशासित र दीगो आधार खडा गर्ने खाले बजेट भएन ।' उनले संसदमा रहेका अर्थमन्त्री तर्फ संकेत गर्दै भने 'कानुनी क्षमता भएको भए त विस्तारकारी बजेटलाई पनि राम्रै मान्न सकिन्थ्यो। बजेट ठूलो ल्याउने, जनतालाई सपना देखाउने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिले जनताले बजेट र सरकारले भने गरेका कुरामा विश्वास कसरी गर्ने ?'
महामन्त्री कोइरालाले यस वर्षको वास्तविक कुल खर्चको १५ देखि २० प्रतशितसम्म मात्रै वृद्धि गरेर बजेट ल्याउनु राम्रो हुने सुझाव पनि दिएका छन्। चालु आर्थिक वर्षको तथ्यांक हेर्दा संशोधित लक्ष्य अनुसार पनि राजश्व संकलन हुन नसक्ने स्थिति रहेको भन्दै उनले यस्तो स्थितिमा आगामी वर्षमा पनि सरकारले लिएको लक्ष्य हासिल गर्न गाह्रो पर्ने बताए । उनले वैदेशिक अनुदान र ऋण पनि सरकारले लक्ष्यअनुरुप प्राप्त नगरेको र बजेट खर्च गर्न नसक्ने प्रवृत्तिका कारण वैदेशिक अनुदान र ऋण नेपालले कम पाउन थालेको समेत बताएका छन् । आगामी वर्षम सुधार भइहाल्ला र वैदेशिक अनुदार र ऋण आउला भन्ने कुराको आधार नदेखिने समेत उनले बताए।
'सभामुख महोदय, हामी साँच्चिकै समृद्ध नेपाल निर्माण गर्न गम्भीर छौं भने पुँजीगत खर्च र चालु खर्चको हालको प्रवृत्तिमा व्यापक सुधार ल्याउन सक्नुपथ्र्यो । चालु खर्चलाई ब्यापक कटौती गर्दै उठाएको राजस्व, तलव, भत्ता खर्च गरेर विकासका लागि दाताहरुमा आश्रित रहने प्रवृतिमा सुधार ल्याउनुपर्छ ।' कोइरालाले भने 'हाल राजस्वको ठूलो अंश तलबभत्ता वितरण गर्दैमा ठिक्क हुने अवस्था छ ।' पाइलैपिच्छे उठाएको करको उक्त हिस्सा विकासको लागि प्रयोग हुन नपाउनु अत्यन्त दुखद पक्ष रहेको उनको भनाई छ । स्रोत जुट्ने भरपर्दो आधारबिना हचुवाको भरमा बजेटको आकार बढाइनु ठिक नभएको भन्दै उनले कार्यान्वयन गर्न नसकिने र ऋण काढेर बाँड्ने बजेटले मुलुकको दीगो आर्थिक समृद्धि ल्याउने भन्ने कुरा हास्यास्पद हुने पनि बताए।