ओलीको प्रस्ताव नेपाल–खनाल–गौतमलाई अमान्य, पोखरेल निस्के चट्टान बनेर
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
603
Shares
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आरोप प्रत्यारोप पेचिलो बन्दै गएको छ । अध्यक्ष केपी शर्मा ओली अन्य नेताहरुलाई मान्छे नगन्ने र दोस्रो तहका नेताहरु ओलीलाई सहयोग नगर्ने नीति लिएर अगाडि बढ्दा नेकपाभित्र अझै पनि तत्कालीन एमालेको ‘लुछाचुँडी’ भावना एक रहेको स्पष्टै देख्न सकिन्छ ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा मंगलबारदेखि बिहीबारसम्म छलफल चल्यो । तर एक रत्ति पनि सहमति भएन ।
ओलीसंग पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव सचिवालय बैठकका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले नमानेपछि यसको निर्णय ओली युरोप भ्रमणबाट फर्केपछि मात्र हुने भएको छ ।
ओलीले बिहीबार पनि त्यस्तै रबैया देखाए जुन पहिले पनि देखाउने गर्दथे । उनले आफूले ल्याएको प्रस्तावमा कसैको हस्तक्षेप नहोस् भन्ने चाहन्थे । अहिले पनि त्यस्तै छ ।
त्यही ढिपी नछोडेपछि सहमति नजुट्दा बैठक नै अनिश्चितकालका लागि स्थगित भयो । उनले बिहीबार चुनौती नै दिँदै भनेका थिए – मैले ल्याएको प्रस्ताव सच्चिन्न यसमै समर्थन गर्नुस् । स्रोतले भन्यो त्यसपछि नेताहरु पनि चर्कन थाल्नुभयो । बैठक स्थगित भयो ।
यो मामलामा नेपाल, खनाल र गौतमले खुलेरै विरोध गरेका छन् । उनीहरुले प्रस्ताव नसच्याएसम्म अघि बढ्न नसक्ने अडान राखेका छन् ।
उनीहरु एक व्यक्ति एक पदमा समेत कट्टर बन्दै गएका छन् । त्यसैले त होला काम नपाएकालाई अब काम नदिए विद्रोह गर्नेसम्मको चेतावनी ओलीलाई दिएका छन् ।
नेतात्रय जिल्ला इन्चार्ज र सहइन्चार्जमात्र हैन यही मेसोमा केन्द्रीय सदस्यका साथै पोलिटब्यूरोको कार्यविभाजन पनि एक साथ हुनुपर्नेमा एक ढिक्का भएका छन् । उनीहरु एक व्यक्ति एक पद हुनुपर्नेमा छन् ।
ओलीका पक्षधर भने एक व्यक्ति एक पद हुनै नसक्ने बताउँछन् । एक केन्द्रीय सदस्यले भने, ‘सांसद नबनी मन्त्री हुन नपाइने भएपछि दोहोरो पद धारण भइसक्यो, त्यस्तै हो सांसद र पार्टीको पद पनि । पार्टीको सक्रिय सदस्य नभइ टिकट पाइँदैन ।’
यही विषयले विवादको रुप लिएपछि अब ओली युरोप भ्रमणबाट फर्केपछि नै सचिवालय बैठक बस्ने बताइएको छ । तर ओलीले संसदमा सोचेजस्तो आफ्नो पार्टीमा हुने कुरै भएन । फेरि सचिवालयमा उनी अल्पमतमा छन् ।
मध्यदूरीमा प्रचण्ड र बादल
सचिवालय सदस्यका रुपमा अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । तर उनीहरुले कुनै चासो देखाएका छैनन् ।
पूर्व एमालेहरु नै आपसमा भिड्छन् भने त्यसको बीचमा छिर्ने के को जरुरी भन्दै प्रचण्ड खेमा (पूर्व माओवादी) चुपचाप जस्तै देखिएको छ ।
बादल सचिवालय सदस्य अनि गृहमन्त्री पनि भएकाले गर्दा उनी दोहोरो भूमिकामा छन् । यो भूमिकालाई ख्याल गरेर उनी एक व्यक्ति एक जिम्मेदारीको सवालमा ब्याक बेन्चर भएरै बसेका छन् ।
प्रचण्ड पनि बोल्न खोजिरहेका छैनन् । उनी मौन छन् । समय समयमा आफू सरकारमा जाने पालो आयो भन्दै घुमाउरो पारामा भन्दै राजनीतिक तरंग ल्याउन खोज्ने प्रचण्ड तरंग मत्थर पार्न शान्त हुने गर्छन् ।
ईश्वर पोखरेलमात्र चट्टान
एमालेकै नेताहरुले काँध नथापेपछि ओलीको काँध सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल एक्लैले थापिरहेका छन् । आफूले सक्दो सहयोग गर्नका लागि दिलो ज्यान दिएर लागिरहेका पोखरेलले एकल जिम्मेवारीको विरोध गर्दै आइरहेका छन् ।
उनले आफ्नो पार्टीले पहिलेदेखि नै एक व्यक्ति दोहोरो पद धारण गरिरहेको बताउँछन् । त्यसैले पनि उनको भनाईले ओलीलाई राहत गराइरहेको होला । अडान होस् त ईश्वर पोखरेलको जस्तो