arrow

सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
supreme-court-of-nepal.jpeg

काठमाडौं ।  सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीबार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द गर्न माग गरिएको हो ।

रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन नगरेका कारण उत्खननले समग्र वातावरणमा नै प्रत्यक्ष असर पार्ने गरी भएका नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न परमादेशको माग गरिएको छ ।

कानूनमा भएको व्यवस्थाहरुको प्रभावकारी लागू गरी कार्यान्वयन गर्नुपर्नेमा कानूनको पालना नगरी यसको उपेक्षा गरिएको हुँदा नदीजन्य पदार्थको उत्खनन, व्यवस्थापन तथा बिक्रीवितरणसम्बन्धी भएका कानूनको तत्काल कार्यान्वयन गर्नु गराउनु माग गरिएको छ ।

बाह्रबिसे नगरपालिकाको बजारदेखि दोलालघाटसम्म सुनकोशी नदीको दुवैतर्फको  किनारामा र नदीको पिँधबाट कानून विपरीत बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थले नदीको बहाव तथा स्वरुप परिवर्तन भएको रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा नदीको दुवै किनारामा गैह्रकानूनी उत्खननका कारण ठूलाठूला पोखरी बनेको हुँदा सुनकोशी नदी कुरुप र अस्तित्व लोप हुनाका साथै मानव, वन्यजन्तु, जलचर, जलमार्ग, राजमार्ग, वनजङ्गल, पर्यटन व्यवसायीलाई दूरगामी वातावरणीय असर पुग्ने हुँदा कानूनी रुपमा संरक्षण जरुरी भएको भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ