arrow

राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गरेका हुन् ।

हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति कांग्रेसले दुःख प्रकट गरेको छ । प्राकृतिक विपद्का कारण अकालमै निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति कांग्रेसले समवेदना प्रकटसमेत गरेको छ ।

कांग्रेसले विपद्मा परी घाइते हुनु भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पार्टीले सञ्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ