हारेपनि चुनावी प्रतिवद्धता पुरा गर्दै नेताहरु, अभियानले नागरिकमा उत्साह
जीवन शर्मा,
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
426
Shares
ओखलढुंगा । नेपाली कांग्रेसको जागरण अभियानले सर्वसाधारण नागरिकमा उत्साह जागेको छ । बर्तमान स्थानीय, प्रदेश र संघिय सरकारको गतिविधि प्रति आजित बनेका नागरिकहरु नेपाली कांग्रेसले जनजागरण अभियान लिएर गाउँ पसेसंगै सर्वसाधारणमा उत्साह जागेको हो । कांग्रेसले देशव्यापी चुनाव हारेपछि नागरिकसंग प्रत्यक्ष भेटेर पार्टी प्रतिको धारणका बारेमा जानकारी लिने, चुनावी हारको समिक्षा गर्ने, सदस्यता अध्यावधिक गर्ने, पुराना नेताहरुको वायोग्राफी तयार गर्ने र संगठन सुद्धिकरण संगै सदृढिकरण गर्ने अभियान लिएर गाउगाउ पुगेको थियो ।
चुनाव हारेपनि चुनावी अभियानमा गरेका प्रतिवद्धता पुरा गर्न र कांग्रेसको हार भनेको जनताको हार हो भन्ने ठानेर पूनः नागरिक माझ सुख दुख साट्न गाउ अभियान सुरुगरिएको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिकाका मेयरका प्रत्यासी डिल्ली खनालले बताए । हामीले हारेपनि जनताको सेवामा सधै समर्पित हुने बताउँदै खनालले भने ‘नगर क्षेत्रभित्र भएका भ्रष्टाचारका गतिविधि र नागरिकको सेवा प्रवाहमा गरिने नगरको पक्षपाति व्यवहारलाई नजिकबाट नियालेको छु ।’ दुइ बर्ष भित्र नगरपालिकाले नागरिकको पक्षमा भन्दापनि आफ्ना कार्यकर्ताका पक्षमा काम गरेको खनालको आरोप छ । नगरपालिका मात्र नभई नेकपाले जितेका सबै स्थानीयतहमा सत्ता र शक्तिको आडमा मनपरि काम भइरहेको उनले दावी गरे ।
कांग्रेसको जागरण अभियानका क्रममा स्थानीय तहमा बढी भ्रष्टाचारजन्य गतिविधि बढेको पाइएको नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप कुमार सुनुवारले बताए । नागरिकले पाउने सेवा प्रवाह र कर्मचारी भर्ना लगायतका कुरामा राजनीतिकरण गरिएको, स्थानीय तहको शुसाशन खस्कदै गएको लगायतका कुराहरु नागरिक तहबाट गुनासो आएको प्रदेश नम्बर १ (ख) का संसदका प्रत्यासी समेत रहेका प्रदीपकुमार सुनुवारको भनाइ छ । नेपाली कांग्रेसका उदेद्धवार देखि जिल्ला तहका नेता कार्यकर्ताहरु अहिले जनताका घर आगनमा पुगेर अध्यान गर्दा स्थानीय तहमा ठुलो मात्रामा बजेट आएपनि त्यसलाई दिर्घकालिन योजना नभई अल्पकालिन योजना बनाएर खर्च गरिएको, गाउगाउमा जथाभावि सडक खनेर विकास भन्दा बढी विनास निम्त्याएको गुनासाहरु आफुसंग आएको उनको भनाइ छ । स्थानीय सरकारका जनप्रतिनिधिहरुले यसको व्यवस्थापनका बारेमा तत्काल सोच्नुपर्ने सुनुवारको तर्क छ ।
हिमाल पहाड तराइ मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान नारा लिएर कांगेका नेता कार्यकर्ताहरु गाउगाउमा पुगेका छन् । बैशाख २५ गते देखि सुरु गरिएको नेपाली कांग्रेसको जागरण अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न हुन लागेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत जेठ २५ गते नेपाली कांग्रेस ओखलढुंगाले बृहत आमसभाको आयोजना गरेको छ । ८ स्थानीय तह र ७५ वटा वडा रहेको ओखलढुंगाका प्राय सबै वडाहरुमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको र यो अभियानले कार्यकर्ताहरुमा उत्साह जागेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव गोपामान थापाले बता । एक महिने अभियान तत्कालिन एमाले र माओवादीमा आवद्ध सयौं स्थानीय नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गराइएको थापाले जानकारी दिए ।
जागरण अभियानकै क्रममा नेपाली कांग्रेसका नेताहरुले गरेका प्रतिवद्धताहरु पुरा गर्न सक्रीय भएर लागेका छन् । सुनावी कार्यक्रममा गरेका प्रतिवद्धता लाई कार्यन्वायन गराउन र जनताको मुहारमा खुसीको अनुभूति दिलाउन आफु सधै नागरिकसमक्ष संगै रहने प्रदेश (क) का संसदका प्रत्यासी मित्रसेन दाहालले बताए । आफ्ना प्रतिवद्धता पुरा गराउने क्रममा आज चिशंखुगढी गाउपालिका वडा नम्बर ४ रातमाटेमा विधुतिय मिल उपलब्ध गराएका छन् । चुनावको समयमा आफुले लुबु टोलका दलित बस्तीलाइ दिने भनेको विद्युतिय कुटानी पिसानी मिल कांग्रेसको जागरण अभियानकै क्रममा उपलब्ध गराएको दाहालले बताए ।
मिल उपलब्त्र भएपछि स्थानीय दलित समूदायका महिलाहरुले परम्परागत ढिकी जाँतो बाट मुक्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । राष्ट्रिय जागरण अभियान अन्तरगत आज चिशंखुगढी गाउपालिका वडा नम्बर ४ रातमाटेमा गरिएको नेपाली कांग्रेस चिशंखुगढी गाउपालिका संयोजक सन्तोष बाबु थापाले जानकारी दिए ।