काठमाडौं । सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको भन्दै पत्रकारहरुले शनिबार पनि राजधानीमा विरोध प्रदर्शन गरेका छन् । शनिबार राजधानीमा पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा विधेयक फिर्ता लिन माग गर्दै मानव हातेसाङ्लो जुलुस बनाएर एक घण्टा प्रदर्शन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको आन्दोलन कुनै राजनीतिक दलको विरोधमा र कसैको पक्षमा नभएको भन्दै त्यो प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने ठहर गर्दै त्यसलाई सच्याउन ध्यानाकर्षण गर्ने तथा विभिन्न ढंगबाट दवावका कार्यक्रम गर्दा सम्बन्धीत राजनीतिक दल तथा सरकारले सुन्वाइ नगरेपछि महासंघ आगामी दिनमा आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्यन हुने अध्यक्ष आचार्यले बताएका छन् ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने नेपाल मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरे । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेसलाई संकुचन पार्ने प्रावधान सच्याउन माग गर्दै महासंघले आन्दोलन गरेको एक महिना वित्न लाग्दा समेत सरकारले नसच्याएको कारण तेस्रो चरणको आन्दोलनका कार्यक्रम महासंघको आगामि बैठकले तय गर्ने महासंघका सचिव प्रकाश थापाले जानकारी दिए।