कम्युनिष्ट सरकारले बुढीगण्डकी बनाउँदैन – प्रदीप पौडेल
चोरिएको मोटरसाइकल चढेर हिँडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन
प्रकाशित २०७६ जेठ २६ आइतबार
294
Shares
धादिङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् धादिङ प्रतिनिधि प्रदीप पौडेलले आफ्नै लगानीमा बुढीगण्डकी बन्न सक्ने स्थिति हुँदाहुँदै गेजुवालाई ठेक्कादिनु नै बदनियतपूर्ण भएको बताएका छन् ।
उनले कामसुरू गर्न ढिला गरेर लागत बढाउने काम सरकारकै मिलेमतोमा भइरहेको आरोपसमेत उनले लगाएका छन् ।
धादिङबाट जित्नेहरूले नै यसलाई अनिश्चित बनाइरहेको उनको आरोप छ । बुढीगण्डकीलाई गेजुवामुक्त गराएर कमिशनखोरीहरूलाई हटाउन लाग्नपर्ने उनको भनाइ छ ।
नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप लगाए ।
पौडेलले नेपाली काँग्रेस धादिङद्धारा राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजित बृहत आमसभामालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
राष्ट्रिय जागरण कार्यक्रमको लागि खटिएर एक महिनादेखि धादिङमा रहेका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण गरेको धारणा राखे ।
उनले भने–चोरिएको मोटरसाइकल चढेर हिँडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन । उनीहरुले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ ।’
पौडेलले ओली सरकार आफ्नै कारणले ढल्ने ठोकुवा समेत गरे । हिमाल , पहाड, तराई –मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणकोे कार्यक्रम धादिङमा एक सय चार वडामा वडाभेला, १३ वटा पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो ।