विभिन्न पार्टी परित्याग गरि ३२ हजार कार्यकर्ता काँग्रेसमा प्रवेश
प्रकाशित २०७६ जेठ ३० बिहिबार
648
Shares
काठमाडौं । विभिन्न पार्टी परित्याग गरी करिब ३२ हजार कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सो जानकारी दिएका हुन् ।
प्रवक्ता शर्माले भने, “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।”
सोही आशा र विश्वासको भावनाका साथ काँग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उनले जानकारी दिए । उनिहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।
अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । काँग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै काँग्रेस अघि बढ्ने जनाइएको छ ।
अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।