arrow

पौडेलको पार्थिव शरीरमा दाहालले ओढाए झण्डा, नारायणकाजी र परिवारका सदस्यले दिए दागवत्ती

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
poudels1.jpg

चितवन ।  पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । माडीको बघौडा अस्पताल अगाडि शुक्रबार उनको शरीरमा दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

पौडेलको आजै माडी नगरपालिका–५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरियो । उनको पार्थिव शरीरमा पौडेलका धर्मपत्नी गङ्गा बेलवासे, छोरीहरु जागृति र आकृति पौडेलसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दागबत्ती दिएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
 
गृहमन्त्री रामबहादुर थापा, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नं– ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश नं– ३ का आर्थिक मामिला तथा कानूनमन्त्री शालिग्राम जम्मकट्टेल, प्रदेशका सांसद, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाल लगायतले श्रद्धाञ्जलि अर्पण गरे ।

श्रद्धाञ्जलिका क्रममा नेकपाका अध्यक्ष दाहालद्वारा जारी शोक विज्ञप्ति वाचन गरेर सुनाइएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिङ्गो पार्टी र देशमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।

श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा नेता कार्यकर्ता माडी पुगेका थिए । आज बिहान ७ बजे पौडेलको हृदयघातबाट निधन भएको हो । उनको निधनले माडी क्षेत्र शोकमा डुबेको छ ।
 
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट विसं २०२२ कात्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल विसं २०३७ देखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए ।

मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेका नेकपा चौंथो महाधिवेशनको विद्यार्थी सङ्गठनको कार्यकर्ताबाट राजनीति शुरु गर्नु भएका पौडेल विसं २०३९ मा विद्यार्थी सङ्गठनको चितवन जिल्ला सदस्य, विसं २०४१ मा केन्द्रीय सदस्य हुँदै विसं २०५१ मा तात्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजकसमेत चुनिनुभएका नेकपा नेता ईश्वरी भट्टराईले जानकारी दिए।

 दोस्रो संविधानसभामा उनि निर्वाचित भएका थिए । सोही समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले शिक्षा मन्त्रालयका जिम्मा पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ