arrow

'कसले अघि कसले पछि बोल्ने भन्ने सत्ता र प्रतिपक्ष दुवै गैरजिम्मेवार'

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
baburam-bhattrai1.jpg

काठमाडौं । संङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन् ।  सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

 उनले भने “प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो”, ।  उनले सो घटनाको भत्र्सनासमेत गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको थियो । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए । कांग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको जनाएको छ । सोही विषयमा निरन्तर अवरोधपछि मंगलबारको बैठक स्थगन गरिएको थियो ।  

सो विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गरे ।  नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीले बोल्न पाउनुपर्छ भने । “सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ”, उनले भने ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार बिहान सभामुखलाई जनताका समसामयिक आवाजका विषयमा प्रतिपक्षी दलका नेताले बोल्नुहुन्छ भनी समय उपलब्ध गराउन माग गरिए पनि समय नपाइएको बताए ।

“सभामुखले जबर्जस्ती प्रधानमन्त्रीलाई बोल्न समय दिनुभयो । हाम्रो दलका नेताले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्दा सुल्टो पनि हुन्थ्यो र उठेका जनआवाजका विषयका जिज्ञासा सम्बोधन पनि हुन्थे”, प्रमुख सचेतक खाँणले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ