काठमाडौं । न्याय दिने न्यायाधीशरुलाई नै कार्वाही भए के होला ? त्यस्तै हुने भएको छ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ।
उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको हो ।
प्रतिवेदनको प्रकृति हेर्दा दुई जनाको अवस्था गम्भीर खालकै रहेको बुझिएको छ । छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो।
न्यायाधीश छानबिनका लागि न्याय परिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो। चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो।
उच्च अदालत विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेल, न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई परिषदमा तानिएको थियो ।