arrow

गुठीसम्बन्धी आन्दोलन नरोक्ने निर्णय, ३ मन्त्रीको राजीनामा बटमलाईन

logo
प्रकाशित २०७६ असार ४ बुधबार
maitighar.jpg

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले खबरदारी जारी राख्ने निर्णय गरेका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । 

समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने भएकोले भोलिका दिनमा हुने आन्दोलनहरु शान्तिपूर्ण हुने उल्लेख छ ।

२६ जेठको दिन काठमाडौंमा गुठियारहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरिनु संविधानको मर्म विपरित रहेको भन्दै समितिले गृहमन्त्री रामबहादुर थापाको जोडदार रुपमा राजीनामा माग गरेका छन्। त्यस्तै, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोेकुल बाँस्कोटाले पनि गुठीलाई सामन्ती भनेर धर्म संस्कृतिमाथि असंवैधानिक अभिव्यक्ति दिएर मान मर्दन गरेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने उनको माग छ । 

तयारी विना नै भूमाफियाहरुलाई सहयोग पुग्नेगरी गुठी विधेयक ल्याउने पद्माकुमारी अर्यालको पनि उनीहरुले जोडदार रुपमा राजीनामा माग गरेका छन् । समितिले बुधबार माईतीघर मण्डलामा सहभागी भएर धर्मसंस्कृतिको रक्षार्थ आफ्नो अमुल्य समय दिएकोमा सबै उपस्थित सम्पदाप्रेमीहरुलाई धन्यवाद दिएको छ । गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् । आफूहरु भाडाका प्रदर्शनकारी नभई स्वतस्फूर्त रुपमा संस्कृति जोगाउनको लागि आन्दोलनमा उत्रिएको भन्दै प्रधानमन्त्री विरुद्ध उनीहरुले आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए । 

त्यस्तै, उनीहरुको दोस्रो आक्रोश सञ्चारमन्त्री एवं सरकारका प्रवक्ताप्रति छ । प्रदर्शनकारीहरुलाई सम्बोधन गर्नेहरुले सञ्चारमन्त्रीले गुठीलाई सामन्तवादको स्वरुप भनेको प्रति आक्रोश व्यक्त गर्दै सञ्चारमन्त्रीको राजीनामा समेत माग गरेका छन् । आन्दोलनकारीहरुले गुठी कुनै सामन्तवाद नभई यो एउटा परम्परा र संस्कृतिको साधन रहेको समेत बताएका छन् । 

आन्दोलनकारीहरुले उनीहरुसँगै माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र यस्तो संस्कृति सिध्याउने विधेयक ल्याउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको समेत विरोध सहित राजीनामा माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ