arrow

सरकारसंग गणितमात्र छ जनमत छैन

लोकतन्त्र विश्वासको आधारमा चल्ने हो गणितको आधारमा हैन 

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
guthiko_shakti_pradarshan.JPG

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार बलियो बहुमत भएको सरकार हो । उसले चाहँदा बाहेक कसैले पनि इमानपूर्वक काम गर्ने हो भने पाँच वर्ष उसलाई कसैले चलाउन सक्दैन । 

२०७४ फागुन ३ गते प्रधानमन्त्री पदको सपथ खाएपछि ओलीले १६ महिना सरकार चलाइसकेका छन् । यसै गरी अब बाँकी साढे तीन वर्ष भन्दा बढी समय उनले चलाउन सक्नेछन् । 

तर नेपाली राजनीतिको इतिहास हेर्ने हो भने सत्प्रतिशत आफ्नै भएको सरकार त ढल्छ भने बहुमतको सरकार के हो ? 

राणा ढल्नु, पञ्चायत ढल्नु अनि शाहीकाल ढल्नु कम चानचुने कुरो हैन । प्रजातन्त्र, बहुदल र गणतन्त्र आउँदा जसरी मानव सागर उर्लिएको थियो त्यसरी नै मानव सागर सडकमा आउने हो भने ओली सरकार आज छ भोलि नहुन सक्छ । 

तर ओली र उनका मन्त्रीपरिषदका सदस्यको दम्भ भने आजीवन सरकारबाट हट्नु पर्ने छैन भनेजस्तो देखिन्छ । पूर्ण बहुमतको सरकारले जे गर्छ त्यो जनताले हेर्नुपर्छ भनिरहेका छन् । 

सरकारसंग गणित छ जनमत छैन 
यो कुराको प्रमाण बुधबार (असार ४ गते) काठमाडौंको माइतीघर मण्डला वरिवरिको दृष्यले देखाइसकेको छ । त्यो पनि सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरेपछि पनि आएको भीड हो । 

सरकारले भ्रम छर्न अघिल्लै दिन विधेयक फिर्ता भएको जनाएको थियो । त्यसले केही गुठीयार र यो विधेयकको विरोधमा उत्रेकाहरु छुटे होलान् । तर पूर्व निर्धारित कार्यक्रम भएको र ओली सरकारको बोलीको भरोसा नभएकाहरुले उपस्थिति जनाएका थिए । 

जबकि नेकपाकै काठमाडौं उपत्यकाका सांसदहरुले समेत पनि विधेयकको विरोध गरेका थिए । सरकारले विधेयक फिर्ता लिँदालिँदै पनि किन आयो त जनसागर सडकमा ? 

यसबाट स्पष्ट हुन्छ कि सरकारसंग गणित छ तर जनमत छैन । गणितीय हिसाबले सरकारसंग बहुमत छ तर जनमत छैन । 

सरकारले जनमत जति निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डदेखि गुठीसम्म आउँदा गुमाइसकेको छ । चाहे स्वास्थ्य विधेयक, चाहे मानवअधिकार विधेयक होस्, चाहे स्वास्थ्य चिकित्सा विधेयक होस् वा त्यस्तै त्यस्तै । 

सरकारले जहाँ पनि जनतालाई दुःख दिनेबाहेक केही कामै गरेको छैन । त्यसैले त राजपा नेता राजकिशोर यादव भन्छन् – सरकारसंग गणित छ तर जनमत छैन । उनले ओली सरकारको दिनगन्ती सुरु भएको दावी गर्छन् । 

उनले माइतीघर मण्डलाको जनादेश हेरेर सरकारको दिनगन्ती सुरु भइसकेको दावी गर्छन् । यादवले जनमतलाई सरकारले चिँढाएको बताए । 

उनले विगत सम्झदै भने, ‘जनताको बोलीमा बोली मिलाउन नसक्ने सरकार ढल्न सक्छ । अहिलेका मन्त्री त न संविधान मान्छन् न कानुन मान्छन् । 

मन्त्री लालबाबु पंडिततिर संकेत गर्दै उनले भने, ‘राज्य व्यवस्था समितिले गरेको निर्णय एकदम सही हो । यो मिनि पार्लियामेन्ट हो । समितिको कुरा नमान्नेलाई कार्वाही हुनुपर्छ ।’

उनले अगाडि थपे, ‘लालबाबुको अभिव्यक्ति र संचारमन्त्रीको भाडामा ल्याएका टट्टु भन्ने अभिव्यक्ति अनि एक जना मन्त्रीले भाङ खाएर हो कि के खाएर हो मधेसी जति भारतीय हुन् भनेर भनेका छन् ।’

नेता यादवले लोकतन्त्र विश्वासको आधारमा चल्ने भएकाले ओली सरकारको  गणित कुनै पनि बेला ढल्ने दावी गरे । 
 गुठी विधेयक फिर्ता नहुने अनि फेरि लैजानै बताइनु र विधेयकविरुद्धका अभियन्ताहरुले आन्दोलन जारी रहेको घोषणा गर्नुले अब सरकार माइतीघर मण्डलाको जनसागरभन्दा ठूलो सागरको निम्तो गरिरहेको त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ