arrow

कांग्रेसको महाधिवेशन समयमै गर्न सिटौलाको माग

महाधिवेशन पछि धकेल्नु कांग्रेसको लागि मात्र नभई देशकै लागि घाटा

logo
प्रकाशित २०७६ असार ९ सोमबार
Krishna_sitaula.jpg

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीको संगठन नै नभएका कारण पार्टीको साख गिर्दो अवस्थामा पुगेको बताएका छन । 

राजधानीमा सोमबार जीपि कोइराला अध्ययन केन्द्रले स्वर्गीय गिरजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तिका अवसरमा गरेको कार्यक्रममा सिटौलाले पार्टी संगठन बनाउन तत्काल महामधिवेशनमा जानु पर्ने बताए ।

पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले पार्टीको संगठन नै नभएका कारण पार्टीको साख गिर्दो अवस्थामा पुगेको बताउँदै तत्काल महाधिवेशन नभए पार्टीका लागि मात्रै होइन देशका लागि समेत घाटा रहेको बताए । 

उनले भने, ‘भर्खरै पार्टीको जागरण अभियान त भयो, बिना संगठनको यात्रामा जागरण गरेर आइयो, अब पनि पार्टीको संगठन बनेन भने कांग्रेसका लागि मात्रै होइन, देशका लागि पनि घाटा छ ।’

नेता सिटौलाले सरकार गलत बाटोमा र कांग्रेस थाकेको बाटोमा हिड्दा देशको राजनीति पुनः दुर्घटनातर्फ उन्मुख भइरहेको जनाए । 

‘सरकार गलत बाटोमा हिड्छ, प्रतिपक्ष गलत भयो भनेर दह्रो बोल्न सक्दैन, कांग्रेस पनि थाकेको जस्तो भइरहेको छ, सरकार गलत ट्रयाकमा हिड्दा र कांग्रेस थाक्दा देशको राजनीति दुर्घटनातर्फ उन्मुख भइरहेको छ,’ सिटौलाले थपे । 
उनले स्वर्गीय गिरिजाप्रसादको दुरदृष्टीकै कारण नेपालको शान्ति प्रक्रिया अघि बढेको र नेपालमा गणतन्त्रको झण्डा फहराएको समेत बताए । 

नेता सिटौलाले महासमितिको म्याण्डेडलाई पार्टी नेतृत्वले लत्याएको भनेर देशभरका नेता कार्यकर्ताले प्रश्न गरेको भन्दै भने, ‘आफ्नै साथीहरुले नेता पत्याउँदैनन भने किन नेता भएर बस्नु पर्ने ?’ उनले युवा पुस्तालाई नेतृत्वको रेसमा आउन समेत आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ