जागरण अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन माथि सानेपामा छलफल हुदै

प्रकाशित मिति : २०७६ असार १० मंगलबार

काठमाडौं ।  नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग  बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो ।

अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ ।

कांग्रेसले जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ