arrow

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको दोष मौसमकै, प्रतिवेदन बाहिर ल्याइएन

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
rabindra-adhikari-nomore.jpg

काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ ।     
     
आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यद्यपि, प्रतिवेदनको विस्तृत जानकारी भने बाहिर ल्याइएको छैन ।     
     
पर्यटनमन्त्री अधिकारीसहित सातजना सवार एयर डाइनेस्टीको कलसाइन ‘नाइनएन एमआई–एसएस ३५० बिथ्रिइ’ हेलिकप्टर विसं २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित तारेढुङ्गा भन्ने सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।   
  
 उक्त दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेगरी पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

मन्त्री अधिकारीसहितको टोली ताप्लेजुङ्गको चुहानडाडाँलगायतका क्षेत्रको विमानस्थलको सम्भाव्यता अध्ययन तथा स्थलगत निरीक्षण गर्न काठमाडौँबाट गएको थियो ।     
     
चुहानडाँडाको निरीक्षणपछि उक्त टोली पाथिभरा देवीको मन्दिर दर्शन गर्न गएको थियो । जतिबेला त्यहाँको मौसम खराबी थियो हेलिकप्टर उडेको एक मिनेटमै हिमआँधी आएकाले दुर्घटना भएको प्रतिवेदनले औंल्याएको छ । 

मन्त्रालयका अनुसार प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान छ । सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।     
     
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना सम्बन्धी जाँच आयोगले प्रारम्भिक प्रतिवेदन पर्यटन राज्यमन्त्रीलाई बुझाएको जानकारी र्दिए । तर, प्रतिवेदनभित्रको विषयवस्तुबारे अहिले नै सार्वजनिक नभएको उनले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ