arrow

भारतले धौलीगङ्गा बाँध खोल्यो, नेपालका चार जिल्लामा शुक्रबारसम्मै खतरा

बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न अनुरोध 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
dhauliganga.jpg

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बुधबार रातिदेखि खोलिएको छ ।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार राति १२ बजेदेखि बाँध खोलिएको हो ।     
     
बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । 

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए ।     
     
बाँध बिहीबार बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ । 

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।     
     
बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार बिहीबार बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।     
     
धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।     
     
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ