arrow

कांग्रेसद्धारा जागरण अभियानका प्रतिनिधिसँग छलफल जारी, विचार केन्द्रीय कार्यसमितिको बैठकमा लैजाने

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहीबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो ।     
     
बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।     
     
बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्नेलगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए । 

छलफल तथा अन्तरक्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन् ।     
     
अभियानका क्रममा काङ्ग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, -याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । 

छलफल तथा अन्तरक्रियामा उठेका विचारलाई असार २२ देखि शुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ