arrow

रोल्पाको लिवाङमा विवेकशील नेपालीको नीति सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असार १३ शुक्रबार
rolpa-bibekshil.jpg

रोल्पा । विवेकशील नेपालीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा शुक्रबारदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने उक्त सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्नेछ।

सम्मेलनको पहिलो दिन सहभागीहरूले हातमा नेपालको झन्डा बोकी वाणिज्य सङ्घको सभाहलबाट सुरु गरी सहरको प्रभातफेरि गरेका थिए। सबै सहभागीहरूले लिवाङको टुँडिखेलमा गोलो घेरा बनाई राष्ट्रिय गान गाएका थिए। त्यसपछि प्रभातफेरि वाणिज्य सङ्घको सभाहलमा नै पुगी समापन भएको थियो।

कार्यक्रममा सहभागी तथा अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्यको बारेमा प्रदेश ५ का संयोजक शिव प्रसाद थापाले प्रष्ट पारेका  थिए। प्रदेश सभा ३ का सांसद रमेश पौड्यालले प्रदेश सभामा आफूहरूले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए। साथै, उनले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्रेर हत्या गरेकोमा सरकारको विरोध गर्दै विप्लव समूहलाई पनि हत्या हिंसा त्यागेर तीन करोड नेपालीको मुहारमा मुस्कान ल्याउन सबै पक्ष सँग वार्ता, संवाद र सहकार्य गर्न आग्रह गरेका थिए।

अपराह्न १:३० बजे सम्मेलनको औपचारिक सुरुवात एक समारोहका बीच भएको थियो। खुला सत्रको बीचबीचमा गीत, नृत्य, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। प्रवासका सदस्यहरूको मानार्थ आठौँ प्रदेश लगायत सबै प्रदेश संयोजक वा प्रतिनिधिहरू अनि सांसद रमेश पौड्याल तथा विराजभक्त श्रेष्ठले शुभकामना दिँदै पार्टीले लिनुपर्ने दिशाको बारेमा चर्चा गरेका थिए।

 सुदूरपश्चिम प्रदेशका सचिव भरत राज पन्त, कर्णाली प्रदेशका संयोजक अनिल शाही, प्रदेश ५ का संयोजक शिव प्रसाद थापा, गण्डकी प्रदेशकी संयोजक सुमित्रा गुरुङ, प्रदेश ३ कि संयोजक कर्मा तामाङ, प्रदेश २ बाट प्रदेश संयोजक माधव कुमार, प्रदेश १ संयोजक सन्तोष घिमिरे अनि प्रदेश ८ का समिति सदस्य राज क्षेत्रीले पार्टीले लिनुपर्ने कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । साथै आयोजक समितिका सदस्यहरूको तर्फबाट रमेश विष्ट तथा निर्देश सिलवालले पनि मन्तव्य राखेका थिए।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा पार्टीका अध्यक्ष उज्वल थापाले द्वन्द्वकालमा आफूले रोल्पामा गरेको भ्रमणको स्मरण गरेका थिए। साथै उनले विवेकशील नेपालीको इतिहास संक्षिप्तमा पनि व्यक्त गरेका थिए। उनले सिस्टम बनाउनु अघि संस्कार बनाउन आवशयक रहेको कुरा समेत बताएका थिए। उनले कार्यक्रमले देशको एक राजनीतिक दललाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान यस सम्मेलनले तय गर्ने विश्वास व्यक्त गरेका थिए।

यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा, नेपाली काँग्रेस रोल्पाका कार्यवाहक अध्यक्ष किशोर आचार्य; उद्योग वाणिज्य सङ्घ, रोल्पाका अध्यक्ष विश्व कुमार चन्द, पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ