arrow

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

logo
रासस,
प्रकाशित २०७६ असार १४ शनिबार
Pradeep.jpg.jpeg.jpeg

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्। मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उनले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताए।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए। उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए। 

उनले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए। “मदन भण्डारीले अर्न्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँल्याउन सफल हुनुभयो”, उनले भने, “माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो।” नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए।
 
“बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका कारण आज नेपालमा दुई तिहाइको कम्युष्टि सरकार निर्माण भएको छ”, उनले भने, “क्रान्ति र हिंसा कम्युनिष्ट पार्टीको पर्यावाची शब्द हुन नसक्ने कुरामा भण्डारी सधैँ दृढ रहनुभयो।” शान्तिपूर्ण राजनीतिक प्रणालीलाई अवलम्बन गरेकै कारण देश कम्युनिष्टमय बनी दुई तिहाइको सरकार निर्माण भएको उनले बताए। उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भई एउटै विशाल पार्टी बन्नुमा पनि भण्डारीको सिद्धान्तले काम गरेको बताए। उनले अब बन्ने समाजवाद नेपालको परिवेश अनुकूल लोकतान्त्रिक विशेषतायुक्त हुने बताए। 

मन्त्री ज्ञवालीले सरकारले प्रभावकारी ढङ्गले कार्यसम्पादन गरिरहेको दाबी गरे। “सरकार गठन हुँदा सङ्घीयताले खुट्टा टेक्ने अवस्था थिएन”, उनले भने, “६० वटा कानून निर्माण भइसकेका छन्, आधारभूतरुपमा सरकारले काम गरिरहेको छ।” उनले राष्ट्रिय पूँजी निर्माण कमजोर रहेका कारण खर्च धान्न सरकारलाई हम्मेहम्मे परिरहेको बताए। उनले स्रोतसाधन नहुँदा अर्थतन्त्रमा छ मिलियन डलरको अभाव रहेको बताए। ज्ञवालीले सरकारले ७.१ प्रतिशतले आर्थिक वृद्धि दर हासिल गरेको जानकारी दिँदै प्रतिकूलताका बाबजुद पनि अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताए। 

ज्ञवालीले यो सरकारले विभिन्न मुलुकसँगको सम्बन्धलाई बलियो बनाउन सफल भएको बताए। “अन्तरराष्ट्रिय फोरममा नेपालका एजेण्डा राख्न सफल भएका छौँ”, उनले भने, “हाम्रा एजेण्डाले विषय पाउन थालेका छन्, यो पनि सरकारको सफलता नै हो।” उनले गहिराइमा गएर अध्ययन गर्ने बानीको अभावले समाज प्रतिक्रियात्मक बन्दै गइरहेको बताए। “अध्ययन नगर्नाले हल्लाका पछि लाग्ने जमात ठूलो हुँदैछ”, उनले भने, “अब बौद्धिक बहस र हस्तक्षेपको खाँचो छ।”

कार्यक्रममा डा  प्रेम दङ्गालले ‘समाजवादउन्मुख अर्थ व्यवस्था आजको आवश्यकता’ विषयको कार्यपत्र प्रस्तुत गर्दै बजार अर्थव्यवस्थाबाट समाजवादउन्मुख कार्यक्रम लागू गर्दै समाजवादमा पुग्ने बताए। 

उनले राज्य र निजी क्षेत्रबीच प्रतिष्पर्धा र सहकार्यको आवश्यकता रहेको बताए। कार्यपत्रमाथि प्रा डा केशव खड्काले टिप्पणी गरे। कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष कुलबहादुर आचार्य, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, मदन भण्डारी फाउण्डेसनका संस्थापक गुरु बरालले मन्तव्य राखेका थिए। सोही अवसरमा  परराष्ट्रमन्त्री ज्ञवालीले मञ्चले प्रकाश गरेको ‘बौद्धिक अभियान’ नामक पुस्तकको लोकार्पणसमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ