arrow

ठूला मन्त्रालयमा सरुवा, सचिवहरूको दौडधुप सुरु

logo
प्रकाशित २०७६ असार १४ शनिबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg

काठमाडौं। सरकारले आगामि साउनमा केही सचिवहरुको सरुवा गर्ने गृहकार्य अघि बढाएको छ। साउन पछि वाणिज्य तथा आपुर्ती सचिव केदारबहादुर अधिकारी, राजस्व सचिव लालशंकर घिमिरे लगायतका ३ जना सचिव रिटचयर हुँदै छन्। रिक्त ठाउँमा पदपुर्ती गर्ने क्रममा सरकारले अरु केही सचिवहरुको पनि सरुवा गर्ने तयारी गरेको छ। सरकारले यस्तो तयारी सुरु गरेको थाँहा पाए पछि शक्तिशाली र ठूला मन्त्रालयमा सरुवा हुन सचिवहरुले दौडधुप सुरु गरेका छन्। 

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले साउन पछि केही सचिवहरुको सरुवा गर्न गृहकार्य सुरु गरेको छ। सरुवाकोलागि केही सचिवहले रुचि देखाएका छन्। राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई राजस्व सचिवमा लैजान तयारी भएको स्रोतको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने गृह सचिव हुन लविङ सुरु गरेका छन्। हालका गृहसचिव प्रेमकुमार राइलाई मुख्य सचिव बनाएर उनको ठाउँमा न्यौपानेलाई ल्याउने तयारी भएको स्रोतको भनाइ छ। तर मुख्य सचिव लोकदर्शन रेग्मीको जिम्मेवारी परिवर्तन गर्ने-नगर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै निष्कर्षमा नपुगेको स्रोतको भनाइ छ।

मुख्यसचिव परिवर्तन गर्न प्रधानमन्त्रीलाई दबाब बढ्दै गएको बताइन्छ। गृहमन्त्रालयमा सरुवा हुन अधिकांश सचिवहरुले चासो देखाउने गर्छन। गृहमन्त्रालयलाई ठूलो र आकर्षक मन्त्रालय मानिन्छ। कमजोर र कम आकर्षक मानिने मन्त्रालयबाट सरुवा भइ ठूला मन्त्रालयमा सरुवा हुन सचिवहरुले चासो देखाएका हुन्। 

त्यसो त, खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा पनि ठूलो मन्त्रालयमा जान दौडधुप सुरु गरेका छन्। उनी सकेसम्म भौतिक पूर्वाधार मन्त्रालयमा जान चाहेको स्रोतको भनाइ छ। पछिल्लो समय खानेपानी मन्त्री विना मगर र शर्मावीच सम्बन्ध चिसिदै गएको छ। स्रोतका अनुसार खानेपानी मन्त्री मगर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रवन्धक महेश भट्टराइलाई हटाउन चाहेकी छन्। सचिव शर्माले भने शर्माले भने भट्टराइलाई संरक्षण गरेको बुझाइ मन्त्री मगरको छ। केयुकेलमा खानेपानी मन्त्रालयको ३० प्रतिशत मात्र शेयर छ। त्यसैले मन्त्रीले चाहेर पनि भट्टराइलाई हटाउन सक्दिनन्।

भट्टराइलाई हटाउन शर्माले सहयोग नगरेको मन्त्रीका मगरको सचिवालयमा बस्नेहरुले निष्कर्ष निकाले छन्। खानेपानी सचिव शर्मा स्वयम पनि खानेपानी मन्त्रालयबाट सरुवा हुन दौडधुप सुरु गरेका छन्। खानेपानी मन्त्रालयभन्दा भौतिक पूर्वाधार मन्त्रालय ठूलो मन्त्रालय मानिन्छ।

भुमि व्यवस्था मन्त्री पद्मा अर्यालले पनि भूमि व्यवस्था सचिव गोपी मैनालीलाई भूमि व्यवस्थाबाट अन्य ठाउँमा सरुवा गर्न चाहेकी छन्। पछिल्लो सयम मन्त्री अर्यालय र भूमि व्यवस्था सचिव मैनालीवीच सम्बन्ध राम्रो हुन सकेको छैन। तर प्रधानमन्त्रीले नै मैनालीलाई भूमि व्यवस्थाबाट अन्य ठाउँमा सरुवा गर्न नचाहेको स्रोतको भनाइ छ।

महिला बालबालिका मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पनि आकर्षक र ठूला कार्यालमया सरुवा हुन लविङ सुरु गरेका छन्। यसैगरी नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर पनि अन्य कार्यालयमा सरुवा हुन चासो देखाएका छन्। नेपाल ट्रष्टको कार्यालयलाई सचिवहरुले त्यती आकर्षक कार्यालय मान्दैनन्। ठूला र आकर्षक कार्यालयमा सरुवा हुन सचिवहरुले राजनीतिक कनेक्सन पनि मिलाउने गर्छन। तर चाँडो चाँडो सरकारले सचिव सरुवा गर्दा अस्थिरता आउने प्रशासनवीद्हरु बताउछन्।

एक प्रशासनवीद् भन्छन्,‘पहिले चाँडो चाँडो मन्त्रीहरु परिवर्तन हुने गर्थे। अब चाँडो चाँडो सचिव फेरिने गर्छन्।’ चाँडो चाँडो सचिव सरुवा गर्दा अस्थिरता बढेको गुनासो आउन थालेपछि कम्तीमा एक वर्ष सचिव सरुवा नगर्ने सरकारले नीति बनाएको थियो। उक्त नीति कार्यान्वयन नहुने निश्चित छ। साउन महिनामै केही सचिवहरु फेरबदल गर्ने सरकारले सुरु गरेको गृहकार्यले कम्तीमा एक वर्ष सचिव नफर्ने सरकारको नीति कार्यान्वयन नहुने पक्का भएको छ।

सहसचिवबाट सचिवमा बढुवा भइ प्रदेशमा १मा गएका सचिव सुरेश अधिकारी पनि तत्काल काठमाडौं आइ आकर्षक कार्यालयमा सरुवा हुन लविङ सुरु गरेका छन्। यसअघि उनी संघीय मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी लिएका थिए। अधिकारी निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका नातेदार पनि हुन्।

सहसविचबाट सचिवमा बढुवा हुँदा उसको  पहिलो पोष्टिङ काठमाडौं बाहिर हुने परम्परा छ। उक्त परम्परा धान्न अधिकारी प्रदेश १ मा नियुक्त गरिएका थिए। परम्परा थेग्न  काठमाडौं बाहिर गएका सचिवहरु १/२ महिना मात्र काठमाडौ बाहिर बस्छन्। एक-दुई महिनामै काठमाडौमा पर्कन लविङ सुरु गर्न थाल्छन्। त्यसैले प्रदेशमा पठाइएका प्रदेश प्रमुख सचिवहरु (संघमा सचिव) पनि चाँडो चाँडो परिवर्तन हुने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ