arrow

बालकको मृत्युपछि स्थानीयको प्रदर्शन, प्रहरीले गोली चलाउँदा महतोको मृत्यु

logo
प्रकाशित २०७६ असार १५ आइतबार
gun-bullet-ar.jpeg

सर्लाही । प्रहरीले चलाएको गोली लागेर आइतबार यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आइतबार दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
    
प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का सांसद प्रमोद साहले जानकारी दिनुभयो । प्रहरीको गोली लागि चार जना घाइते भएका उनले बताए ।

सर्लाही र महोत्तरीको सिमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिटी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले राजमार्गमा शव राखेर १० मिटेन जति अवरोध गरेपछि त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउन खोज्दा दोहोरो झड्प भएको थियो । प्रहरीले चलाएको गोली देवनको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गङ्गा महतोले जानकारी दिए । घाइतेहरुको परिचय खुलेको छैन् ।

बाटो खुलाउन तथा स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवैतर्फबाट १४ सेल अश्रुग्यास र करीब दुई दर्जन हवाई फायर गरेको जनाइएको छ ।  प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा चलाउन थालेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए ।

प्रहरीको गोली लागेर मृत्यु भएको देवन महतो शव र हिजो शनिबार बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएको अमित रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ