arrow

रेनु दाहाललाई जिताउन मतपत्र च्यात्नेलाई एक–एक लाख जरिवाना

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
Renu-Dahal_devi_Gyawali.jpg

चितवन । जिल्ला अदालत चितवनले रेनु दाहाललाई जिताउने नाममा मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवाना सजाय तोकेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई एक–एक लाख जरिवाना गरिएको हो ।

अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा सोमबार सजाय सुनाएको हो ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुले हार्ने अवस्था आएपछि रेनुका दाहिने हात मानिएका द्रोण र मधुले नियोजित रुपमा मतपत्र च्यातेका थिए । तत्कालीन एमालेका उम्मेदवार देवी ज्ञवाली जित नजिक पुग्दापुग्दै मतपत्र च्यातिएको थियो । 

महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो । 

पुनः निर्वाचन भएपछि नेपाली काँग्रेसको जोडबलमा रेनुले चुनाव जित्न सफल भएकी थिइन् । उनी २०३ मतले विजयी भएकी थिइन् । 

त्यतिबेलै शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा एक–एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

चुनावमा एमाले र माओवादीबीच निकै घम्साघम्सी भए पनि २०७४ असोज १७ गते एमाले र माओवादीबीच अर्को सहमति भएपछि उनीहरु बाँकी निर्वाचनमा भने एकतावद्ध भएर गएका थिए । त्यसपछि अहिले बहुमतको सरकार छ । 

रेनुसंग चुनावमा हारेका देवी ज्ञवालीले प्रचण्डको विकल्प छैन भन्दै प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डलाई जिताउन अग्रस्थानमा प्रचारप्रसारमा लागेका थिए । 

एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ