arrow

पत्रकार सम्मेलन स्थलबाटै अध्यक्ष पक्राउ, बिरोधमा अत्तरिया बन्द

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असार १८ बुधबार
pakrau4.jpg

अत्तरिया । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पत्रकार सम्मेलनबाटै  बुधबार पक्राउ गरेको छ । बुधबार बिहान अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले देवकोटालाई नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान पत्रकार सम्मेलनमार्फत् घटनाको बारेमा जानकारी गराउन थालेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट डिएसपी ज्ञानबहादुर बिष्टको नेतृत्वमा गएको प्रहरीको टोलीले अध्यक्ष देवकोटासहित उद्योग वाणिज्य संघ सदस्य विपिनकुमार साउँद र दिनेश बिष्टलाई नियन्त्रणमा लिएको हो। उनले पत्रकार सम्मेलन कार्यक्रममा सहभागी भएका बेला तीनैजनालाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका तीनैजना जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेको र कानुनी कारबाही अगाडि बढिरहेको प्रहरीले बताएको छ।  असार १० गते सम्पन्न गोदावरी नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरुले पनि स्थानीय व्यापारीका समस्याहरु राख्न पाउनुपर्ने भन्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटासहितका व्यापारीले असहमति जनाएका थिए।

नगरपालिकाले अध्यक्ष देवकोटासहित सचिव शंकर खड्का, सदस्य विपिनकुमार साउँद, सदस्य रविन्द्र खनाल, स्थानीय व्यापारी राजेन्द्र बोगटी, केशव नौन्याल, दिनेश बिष्ट र मोहन पाठकको नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक हितविरुद्धको मुद्दा दर्ता गरेको थियो।

व्यापारीलाई फसाउन खोजेको भन्दै उनले भने, ‘झुटा मुद्दा खारेजी नहुन्जेलसम्म अत्तरियाका व्यापारीहरु स्वतःस्फूर्त लडिरहनेछौँ।’

गत असार १० गते नगरसभा चलिरहेका वेला अवरोध गर्न खोजेको भन्दै देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य ८ जना पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो ।

नगरपालिकाको तेस्रो नगर सभाको उद्घाटन सत्रको कार्यक्रमलाई अवरोध पुर्‍याएको भन्दै केही व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरिएको थियो।

नगरसभालाई बिथोल्न र अवरोध पुर्‍याउन पटक पटक प्रयास गरेकाले सार्वजनिक हित विरुद्धको मुद्दा दर्ता गरेको नगरपालिकाले जनाएको छ । 

असार १० गते सम्पन्न नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरुले पनि अत्तरियाका व्यबसायीहरुको समस्या राख्न पाउनुपर्ने भन्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले कार्यक्रममा पटक पटक अवरोधको प्रयास गरेका थिए ।

प्रमुख अतिथि पूर्वमन्त्री लेखराज भट्ट र विशिष्ठ अतिथि प्रदेशका मन्त्री कृष्णराज सुबेदी बोल्ने क्रममा पटक पटक माईकको तारमा अवरोधको प्रयास गरिएको थियो । पार्टीका शीर्ष नेताहरु उपस्थित कार्यक्रममा नै अवरोध गरेपछि संघिय सांसद लेखराज भट्ट निकै आक्रोशित बनेका थिए ।

घटनापछि थप विवाद चर्काउन नहुने भन्दै नेता भट्टसँग दैनिक स्थानीय र काँग्रेसका केन्द्रीय नेता कार्यकर्ताहरुले औपचारिक र अनौपचारिक छलफल गर्दै आएका थिए ।

विरोधमा अत्तरिया बन्द
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना व्यापारी पक्राउको विरोधमा स्थानीय व्यापारीले बजार बन्द गराएका छन्। बुधबार दिउँसोबाट स्थानीय व्यापारीहरुले व्यापारीको हकहितका पक्षमा नगरपालिकाको नगरपरिषद्मा बोल्न नदिएपछि भएको असहमतिमा सार्वजनिक मुद्दा दायर गरिनु र आफ्ना धारणा राख्न उद्योग वाणिज्य संघको हलमा गरिएको पत्रकार सम्मेलनबाटै पक्राउ गरिनु गलत भएको भन्दै व्यापारीले बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए।

‘आफ्ना धारणा राख्दै गर्दा प्रहरी पठाएर पक्राउ गरिनु वाक स्वतन्त्रताको विरुद्ध हो,’ उनले भने, ‘हामीले पत्रकारहरुलाई वास्तविकता जानकारी गराउँदा गराउँदै बोल्नै नदिएर पत्रकार सम्मेलनमै आएर प्रहरीले पक्राउ गर्नु कहाँसम्मको जायज हो।’ झुटा मुद्दा लगाएर व्यापारीलाई फसाउन खोजेको भन्दै उनले भने, ‘झुटा मुद्दा खारेजी नहुन्जेलसम्म अत्तरियाका व्यापारीहरु स्वतःस्फूर्त लडिरहनेछौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ