arrow

साउदी नागरिकको मृत्युपछि जेलमा रहेका चौधरीको लागि ‘ब्लड मनी’ पठाइदै

logo
प्रकाशित २०७६ असार १८ बुधबार
blood_money_ko_news.JPG

काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाको जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।

संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड–मनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेका हुन ।

गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएको र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए ।

लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।

बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफु इन्डोनेसियाको बालीसम्म पुगेको पनि उनले स्पष्ट पारे । उनले भने,‘योभन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार, विकृति तथा विसंगतिकाविरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोकमुलक कार्यहरु गर्दे आएको उनको भनाई छ ।

लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफुमा खुशि र थप हौसला प्रदान भएको बताए ।
‘अहिले ब्लड मनिको सिकार बनेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमा पुगेका हुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमती जनाउँदा पनि राजनैतिक तवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाए पनि सहयोगी हातहरुले आज एक जना नेपालीको ज्यान बचाउने अभियानमा लागेका हौ ।’

केही समय पहिले बारा र पर्सामा गएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पुर्‍याएको उनको भनाई छ । साथै, उनले कुनैपनि प्रकारका बिरामीहरुलाई रगतको अभाव भएमा आफ्नो संस्थासंग सम्पर्क गर्नपनि आह्वान गरे ।

कार्यक्रममा बोल्दै ऋषि धमलाले लामिछानेले नेपालीहरुको दुःखमा ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरे ।धमलाले भने,‘म परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्री तथा प्रधानमन्त्रीलाई अनुरोध गर्छु नेपाली नागरिक बिदेश कुनै रहर नभई बाध्यताबश गएका हुन, उनीहरुका समस्यामा ध्यान दिनुहोस् ।’

कार्यक्रममा बोल्दै साउदी जेलमा रहेका पीडित चौधरीका बुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउन गएको तर झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिए ।

छोराले केही कमाउला र परिवारिक समस्या सामाधान होला भनेर बाध्यताले छोरालाई बिदेश पठाएको जनाउदै विगत लामो समयदेखि आफु नमरी छोराको मृत्युको खवर कहिले आउने हो भन्दै चिन्तामा बितेको पनि उनले सुनाए ।
‘सबै भगवानको खेल हुँदो रहेछ । आज मलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवान बनेर आउनुभएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–उनले भने ।

‘छोरा कमाएर भन्दापनि बाँचेर आउने आशामा’ आफू खुशी रहेको महतोको भनाई छ । उनले भने,‘अब दुःख सुख गरेर भएपनि स्वेदेशमै केही गरेर परिवार पाल्ने छौ ।’ चाँडै नै छोरा नेपाल फर्कनेमा आफु ढुक्क बनेको पनि महतोले विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ