arrow

सर्लाही गोलीकाण्ड : चार दिनपछि महतोको शव बुझ्न परिवार सहमत

logo
प्रकाशित २०७६ असार १८ बुधबार
sarlahi-jhadap-death.jpg

सर्लाही। प्रहरीसँगको झडपमा गोली लागेर युवकको मृत्यु भएपछि सर्लाहीको ईश्वरपुरमा जारी विवाद चार दिनपछि मिलेको छ । मृतकका परिवारसँग बुधबार सहमति भएसँगै विवाद समाधान भएको हो ।

गत शनिवार दिउँसो सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा बालुवा गिट्टी निकाल्न बनेको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता ईश्वरपुर नगरपालिका–११, गौरीशङ्करका ११ वर्षीय अमित राय आइतवार बिहान मृत फेला परेका थिए ।

 जथाभावी उत्खनन् गरिएको खाल्डोको पानीमा डुबेर बालकको मृत्युपछि आक्रोसित स्थानीयले आइतवार दिउँसो बालकलाई शहीद घोषणा गर्नुपर्ने, खोलाको खाल्डो पुर्नुपर्नेलगायतको माग राख्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा प्रदर्शन गरेका थिए ।

त्यसक्रममा सडक बन्द गर्न उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर गौरीशङ्करका २८ वर्षीय देवन भन्ने सरोजनारायण महतोको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली लागेर अर्का स्थानीय २१ वर्षीय राजकुमार महरा गम्भीर घाईते भएका छन् । उनको जनकपुरमा उपचार भैरहेको छ । प्रदर्शनकारीको तर्फबाट ढुङ्गामुढा प्रहार हुँदा ११ जना नेपाल प्रहरी र छ जना सशस्त्र प्रहरी समेत घाईते भएका थिए ।

सो घटनापछि आन्दोलित गौरीशङ्करबासीसँग आज ईश्वरपुर नगरपालिकामा छलफल गरी विभिन्न सहमति गरिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेशसभा सदस्य उपे्रन्द्र महतो, नगरभित्रका प्रमुख राजनीतिक दलका प्रतिनिधि र मृतकका आफन्तबीच सहमति भएको हो ।

 छलफलमा गोली लागेर मृत्यु भएका सरोजनारायण महतोलाई शहीद घोषणा गर्न स्थानीय सरकारमार्फत पहल गर्ने, डुबेर मृत्यु भएका बालकका परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउन नगरपालिकामार्फत पहल गर्ने, दुवै मृतकका परिवारलाई क्रिया खर्चबापत २५–२५ हजार रुपैयाँ प्रदान गर्ने, गोली लागेर घाईते राजकुमार महरालाई औषधोपचार खर्च उपलब्ध गराउन पहल गर्ने, गोली लागेर मृत्यु भएका सरोजनारायणको श्रीमतीलाई स्थानीय स्तरमा रोजगारीका लागि प्राथमिकता दिने, बालकको डुबेर मृत्यु भएको खोलाको खाल्डो पुर्ने, बाँके खोलाको सीमा विवाद समाधान गर्न प्रदेश सरकारसँग पहल गर्नेलगायतका सहमति भएका छन् ।

यो सहमतिसँगै मृतकका आफन्तले चार दिनदेखि जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी राखिएको शव बुझ्ने सहमति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ