arrow

ओलीले प्रचण्डलाई भेट दिएनन्, फर्किए बालुवाटारबाट लुरुलुरु

टाढियो पूर्णएकता, प्रचण्ड जगेडा अध्यक्षकै रुपमा  बसिरहलान् ? 

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
oli-prachanda.gif.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ‘केमेष्ट्रि’ यसरी बिग्रिएको छ कि उनीहरु सकभर भेट्न नपरे हुँदो हो भन्ने मनस्थितिमा पुगिसकेका छन् । 

त्यसको उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । बुधबार (असार १८ गते) पार्टीको आन्तरिक विवाद टुंगो लगाएर एकतालाई बलियो पार्नका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको जिम्मा अध्यक्षद्वयलाई दिइएकाले त्यसैका लागि ‘लास्ट टच’ दिन प्रचण्ड ओलीलाई भेट्न गएका थिए । 

तर ओलीले प्रचण्डलाई भेट्न पाएनन् । उनलाई ओली अस्वस्थ भएको जानकारी दिइयो । ओली बिरामी भएपछि हंगामा मच्चिन्छ । समाचार बन्छ । अनि यस्तो भयो भनी सूचना छ्याप्छयाप्ति आउँछ । 

बालुवाटार स्रोतका अनुसार प्रचण्ड ओलीलाई भेट्न गए पनि भेटसम्म पनि गर्न नपाएपछि शीघ्र स्वास्थ्यलाभको कामना गरेर फर्किए । 

प्रधानमन्त्री निवास स्रोतका अनुसार ओली पेट सम्बन्धी समस्याले गर्दा अस्वस्थ छन् । जसले गर्दा चिकित्सकहरुले राजनीतिक भेटघाट र कामकाज सबै बन्द गराएको जनाइएको छ । 

तर अर्को आश्चर्य त के भने बुधबार भएको यो घटनापछि बिहीबार नै ओली एक सार्वजनिक कार्यक्रममा उपस्थित हुँदैछन् भन्ने थाहा पाउँदा प्रचण्डलाई के होला ? 

ओली नेपाल प्राध्यापक संघको महाधिवेशनको उद्घाटन गर्न बिहीबार दिउँसो १ बजे प्रदर्शनीमार्गमा जाँदैछन् । संघका महासचिव प्रा.डा बुद्धबहादुर थापाले उद्घाटनका लागि ओली आउँदै गरेको पुष्टि गरेका छन् । 

ओली जाने भएसंग संचारकर्मीहरुप्रति पनि कौतूहल बढेको छ । के बुधबार बिमार भएर भेटघाट बन्द गरिएका ओली रातारात निको भए ? 

किन रोकियो एकता ? 
प्रधानमन्त्री निवास बालुवाटारमा गत असार ७ गते अपराह्न बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको थियो । 

बैठकले एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भए पनि केही काम बाँकी रहेको र ती बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको थियो । 

दुई दल एमाले र माओवादी केन्द्रको एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रममा रहेको छ । 

यसलाई अन्तिम रुप दिने जिम्मा अध्यक्षद्धयलाई दिइएको थियो । तर ओलीले बुधबार देखाएको प्रतिक्रियाले फेरि पूर्णएकताको प्रक्रिया लम्बिने निश्चित छ । 

असार ७ को सचिवालय बैठकले एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यहरुको कार्यवभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो छिटो टुङ्गो लगाउने निर्णय भएको थियो । तर त्यो छाँट देखिँदैन । एकता फेरि लम्बिने निश्चित प्रायः छ । 

किन लम्बिन थाल्यो एकता ? 
ओली आफूले जे भन्यो त्यही होस् भन्ने चाहन्छन् । उनलाई आफ्नो निर्णयमा कसैले अवरोध गरेको मन पर्दैन । 

कार्यविभाजनमा पनि उनको निर्णय अन्य सचिवालय सदस्यहरुलाई मन परेको छैन । विशेषगरी तत्कालीन एमालेका उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल त्यसको विरोधमा छन् । 

अहिलेसम्म स्थायी कमिटि बैठक र केन्द्रीय कार्यसमिति बैठक पनि बस्न सकेको छैन । एउटा अध्यक्षले पार्टी चलाउने र अर्का अध्यक्षले सरकार चलाइरहेकाले त्यसलाई नै निरन्तरता दिनुपर्नेमा एक पक्ष लागिरहेको छ ।

ओली र उनको खेमा भने सरकार र पार्टी आफैले चलाउनु पर्ने भनी लागिरहेको छ । जगेडा अध्यक्ष भएर बस्नुपरेको पीडा प्रचण्डका पछिल्ला अभिव्यक्तिहरुले देखाइरहेका छन् । 

सोही कारणले गर्दा ओली प्रचण्डप्रति रुष्ट छन् । ओली र प्रचण्ड जुनसुकै कार्यक्रममा संगसंगै हुँदा पनि राम्ररी बोल्दैनन् । अर्थात् आयोजकले पनि भिडाउने किसिमले नै उनीहरुलाई संगसंगै राखेजस्तो हुँदै आएको छ । 

विभिन्न स्रोतका अनुसार ओलीले सरकार कुनै पनि हालतमा नछाड्ने मनस्थिति बनाइरहेका छन् । बाँचुन्जेल अध्यक्षको भूमिका पनि नछाड्ने मनस्थितिमा उनी छन् ।

त्यसो भएपछि प्रचण्डले अब पार्टीमा विद्रोह गरेरै भए पनि सरकार चलाउने योजना बुन्दै गरेको बुझिएको छ । स्रोतका अनुसार प्रचण्डले प्रतिपक्षी दलहरुसंग यसबारे हिमचिम बढाइरहेका छन् । 

ओलीले आफूलाई अगाडि बढ्न नदिएपछि यो नै अन्तिम विकल्प हुने भन्दै अरुहरुले सुझाव दिइरहेका छन् । 

प्रचण्ड जगेडा अध्यक्ष 
प्रचण्ड जगेडा अध्यक्ष भएका छन् । उनको अध्यक्षतामा अहिलेसम्म बैठकहरु बसेका छैनन् । ओली हुँदा ओली नै अध्यक्ष भएर कार्यक्रम चलाइरहेका छन् । 

लोकतान्त्रिक पद्दतिमा सरकारभन्दा पार्टी बलियो हुन्छ । ओलीले नेकपा पार्टीको निर्देशन पालना गर्र्दैनन् । उनले आफूले गर्ने निर्णयमा प्रचण्डलाई साझेदार पनि बनाउँदैनन्।

प्रचण्ड केवल नाममात्रका अध्यक्ष भएको भन्दै उनी खेमाका (तत्कालीन माओवादी केन्द्र) का नेताहरुले सशक्त भएर अगाडि बढ्न उक्साइरहेका छन् । 

अब पनि प्रचण्ड जगेडा भएर बस्छन् वा ओलीका विश्वास पात्र ईश्वर पोखरेललाई जवाफ दिन्छन् ? उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य पोखरेलले प्रचण्डलाई जथाभावी नबोल्न तथा मर्यादामा रहन एक कार्यक्रममा चेतावनी नै दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ