arrow

समायोजनका लागि प्रहरी तयार

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
Sarbendra-khanal.jpg

काठमाडौं । प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले सङ्घीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा खटाएर अभ्यास गरिरहेको जानकारी  दिए ।

 प्रहरी समायोजनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले भन्नुभयो, “हामी अहिलेदेखि नै अभ्यास गरिरहेका छौँ ।” उनले कुन प्रदेशमा कति प्रहरी कर्मचारी चाहिन्छ भनेरसमेत खाका तयार पारिसकेको जानकारी गराए ।

सरकारले ल्याएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको आजको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषय मिल्ने बित्तिकै सबै काम टुङ्गिनेसमेत बताए । छलफलमा समितिका सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, अमरेशकुमार सिंहलगायतले भनाइ राखेका थिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा र ग्रेडवृद्धि गर्न नसकिने धारणा राख्दै पदका विषयमा स्पष्ट निर्णय भएमा सहज हुने उल्लेख गरे ।

बैठकमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिङ्गो प्रारुप तयार गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै प्रदेश प्रहरी सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि प्रदेश प्रहरी ऐन बन्नुपर्ने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ