arrow

जेल जाँदै गर्दा पनि आइजीकै पारामा थर्काए ठकुरीले 

logo
प्रकाशित २०७६ असार २१ शनिबार
ramesh-chanda-thakuri.jpg

काठमाडौं। चर्चित सुडाना घोटालाका काण्डमा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्व आइजी रमेश चन्द ठकुरीले, डिल्लीबजार जेलमा पहिलो रात बिताएका छन्। उनले सर्वोच्चमा हालेको पुनराबलोकनको निवेदनमा अर्को निर्णय भएन भने अब उनले एक वर्षको जेलमा बिताउनु पर्नेछ। तर जेल जाँदा पनि खासै विचलित देखिएनन्।

सायद २ वर्षको गुप्तबासमा उनले, मन दह्रो पारिसकेका थिए। निर्धक्क रुपमा प्रस्तुत हुनसक्ने हिम्मत जुटाइसकेपछि उनी सर्वोच्चमा आत्मसमर्पण गर्न पुगेका थिए, बिहीबार अपराह्नपख। 

पूर्वआइजी ठकुरी आत्मसमर्पण गर्न सर्वोच्च जानेबारे नेपाल प्रहरीले पहिल्यै सूचना पाएको थियो। त्यसकै लागि, सर्वोच्चमा बिहानैदेखि प्रहरीको संख्या बढाउँदै सतर्क राखिएको थियो। पत्रकारहरुलाई क्यामेरा सहित सर्वोच्च प्रवेशमा कडाइ गरिएको थियो। त्यसैले उनीहरुले सर्वोच्चको बार बाहिरबाटै क्यामेर तेस्र्याएका थिए। भित्र पसेका सिमित पत्रकारले मात्रै उनको प्रतिक्रिया लिन पाएका थिए।

अपराह्न ४ बजेतिर सर्वोच्च पुगेका चन्दले, बाहिरै बसेर पुनराबलोकन पाउनु पर्ने माग राखेका थिए। तर सर्वोच्चले उनको कुरामा ध्यान दिएन। जेलभित्रैबाट पनि पाइन्छ हजुर पुनरावेदन भन्दै, जेल लैजाने निधो सुनायो। उनले डिल्लीबजार जेल जानका लागि आफ्नै गाडी प्रयोग गरिपाउँ पनि भनेका थिए।

तर नियमले नमान्ने भन्दै उनलाई सर्वोच्चकै गाडीमा हालियो र लगियो। जेल जानुअघि उनले मिडियासँग कुरा गर्छु भने। त्यहाँ खटिएका प्रहरीले मिल्दैन हजुर भन्न पाउँदा नपाउँदै उनले रुखो पारामा हप्काए, ‘के भनिस् अ‍रे?’ भन्दै। ती प्रहरीले नीलो मुख लगाए। प्रहरी संगठनका अधिकृतले तल्लो तहका कर्मचारीसँग बोल्ने भाषा मासा... लगायतका शब्द नै उनले प्रयोग गरे। ती प्रहरी एकहिसाबले थर्कमान नै भए। भित्र पस्न पाएका केही पत्रकारहरुसँग उनले आफु निर्दोश रहेको र पुनराबलोकनको निवेदन दिएको सुनाए। उनले, फैसला भएपछि, केहिले काहिँ विदेशतिर गएपनि धेरैजसो समय, नेपालमै रहेको पनि बताए।

सर्वोच्चले एकपटक पनि पत्र नपठाएकोले उपस्थित नभएको पनि, उनले भने। जेल लैजानका लागि तयार पारिएको सर्वोच्चको गाडीमा चढ्नुअघि उनले भने, ‘न्याय पाउँछु भनेर आको, झन् कोच्ने ठाउँ पो रछ यो त। हेर्नुस्, नेपालको न्यायको के कुरा गर्नु’। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ