सप्तपाताल पोखरी अतिक्रमणले बिधिबत कार्यमा अबरोध, पोखरीमा टयांकरले पानी खन्याइदै 

सप्तपाताल पोखरी मिच्नेमा नमूना मच्छिन्द्रसंगै सरकारी निकायहरु नै अग्रसर

प्रकाशित मिति : २०७६ असार २१ शनिबार

ललितपूर। मच्छिन्द्रनाथ र मीननाथको जात्रा समापनको सन्देश दिन सप्तपातालमा जिउदो माछा छाडने कार्यमा समस्या आएको छ। सप्तपाताल पोखरीको चारैतिरबाट अतिक्रमण हुदा पोखरीको पानी सुक्दा आज पाताललोकमा नाग देउतालाई सन्देश पठाउने बिधिवत कार्यमा बाधा पुगेको छ।सप्तपाताल पोखरीमा गरीने यो बिधिका लागि यसपाली भने उल्टै टयांकरबाट पानी खन्याउन परेको छ। एक त पोखरीको अतिक्रमण अर्को मनसुनी बर्षा सक्रिय हुन नसक्दा यो पोखरी सुकेको छ। 

पोखरीमा माछा छाड्नकै लागि पनि टयांकरबाट पानी खन्याएको लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष पूर्ण स्थापितले बताए। ललितपूरको नल्लुबाट सुरु भएको राजकुलो सप्तपातालमा पुगरे पाटन क्षेत्रको ढुंगेधारा रिचार्ज हुने गरेको भएपनि हाल यो राजकुलोको बाटो बन्द हुदा सप्तपाताल पोखरी सुक्न पुगेको उनको दाबी छ। यति मात्र होइन यो पोखरी नमुना मच्छिन्द्र, जिल्ला अदालत, सडक बिस्तार र राजदल गणको अतिक्रमणको चपेटामा परेको छ। 

सप्तपातालमा जिउदो माछा छाडेर  पाताललोकमा नाग देउतालाई सन्देश 
रातो मच्छिन्द्रनाथको जात्रा  सकियो भनेर इन्द्र देउतालाई सन्देश पठाउन मासाहुटी यज्ञ गरेर सप्तपातालमा जिउदो माछा छाडेर  पाताललोकमा नाग देउतालाई सन्देश पठाउने प्रचलन रहेको छ। रातो मच्छिन्द्रनाथ र मिननाथको रथजात्रा सकिएको सन्देश स्वर्गलोक र पाताललोकमा पठाउन आज माँसाहुटी यज्ञ गर्न लागेको छ। स्वर्गका इन्द्रलाई जात्रा समापन भएको जानकारी गराउनका लागि लगनखेलको बटुक भैरब अगाडी मासाहुटी यज्ञ गर्न लागेको हो। यो यज्ञमा मीननाथको १० जना पानेजु र उनकी श्रीमति सहित ३ जना गुभाजु पनि सहभागि हुनेछन। 

मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर इन्द्र देउतालाई सन्देश पठाउन मासाहुटी यज्ञ गरेर सप्तपातालमा जिउदो माछा छाडेर  पाताललोकमा नाग देउतालाई सन्देश पठाउने प्रचलन रहेको छ।

बौद्ध तान्त्रिक विधिअनुसार साइतको दिन बटुक भैरब अगाडी मासाहुटी यज्ञ गरेर एक जोडी भँगेरालाई  आकाशमा भुर्रर उडाइन्छ। यो जोडीले स्वर्गमा गएर जात्रा समापनको सन्देश दिन जान्छ भन्ने मान्यता छ। यसपछि, लगनखेलमा सप्तपाताल पोखरीमा एकजोडी हिलेमाछा छोडेपछि त्यसले पातालमा रहेको कर्कोटक नागराजलाई सन्देश पुरयाउने मान्यता रहेको छ। 

नल्लुबाट सुरु भएको राजकुलोको बन्द बाटो खुल्ला गर्ने प्रयास जारी 
नल्लुबाट सुरु भएको राजकुलोको बन्द बाटो खुल्ला गरी सुनागुठीसम्म ल्याउन  नेपाली कांग्रेसका नेता सागर शमशेर जबराले  सक्रिय भुमिका निर्वाह गरेका छन भने त्यहादेखी सप्तपातालसम्म राजकुलो खुलाउन भने समस्या निम्तिएको छ। यस मार्गको ठाउठाउमा अतिक्रमण भएकाले यसलाई खुलाउन समस्या निम्तेको छ।

२०२१ सालको नापी अनुसार  लगनखेलमा रहेको सप्तपाताल पोखरी १४ रोपनी १० आना २ पैसा रहेको १२६ नम्बरको कित्तामा उल्लेख भएपनि अहिले यो अतिक्रमणमा परेर २ रोपनीमा सिमित भएको छ। कुनै बेला अशोक स्तूपसँगै जोडिएको १४ रोपनीभन्दा ठूलो पोखरी चारैतिरबाट मिचिएर डेढ–दुई रोपनी बचेको छ।

स्थानीय पूर्ण स्थापितले पोखरीको एक कुनामा फोहोरको डुंगुरबीच सानो खाल्डो खनेर पानी ट्यांकरबाट भरेर माछा छाड्ने  योजना रहेको बताए। पोखरीमा पानी नरसाएपछि बिगत केही बर्षदेखि यो कार्यका लागि टयांकरबाट पानी खन्याउन बाध्य भएको हो। लगनखेलमै जन्मे–हुर्केका ७२ वर्षे स्थापितले  सप्तपाताल सँस्कृति जोगाउन निरन्तर लोगेको १६ बर्ष भइसकेको छ। उनले पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। सप्तपातालको अतिक्रमण जोगाउन लागिपरेको  डेढ दशकको यो लडाई अझै नटुंगिएकोमा उनको दुखेसो छ। 

उनको दाबी छ, सप्तपाताल ब्युँतिए भित्री पाटनका इनार र ढुंगेधारा फेरि रसाउनेछन्। पाटनबासीका लागि यसैबाट पानी पर्याप्त हुनेथियो। दुई सय पाँच रोपनी आठ आनाको यो जग्गा सरकारकै बिभिन्न निकायकै अतिक्रमणले सुरु भएको दोहन कार्य अझै रोकेको छैन। कसैले भोगचलन गर्न नपाउने यस्तो सार्वजनिक जग्गाको अतिक्रमण सुरुआत २०३४ सालदेखि भएको स्थापितले बताए। शिक्षण संस्थाको सम्पत्ति व्यवस्था जिल्ला समिति, ललितपुरले २०३४ फागुन १२ गते उक्त जग्गाको पूर्वी–दक्षिणी हिस्सा कित्ताकाट गरी नमूना मच्छिन्द्र व्यावसायिक माध्यमिक विद्यालयलाई दिने निर्णय गर्यो।

सप्तपाताल पोखरी मिच्नेमा नमूना मच्छिन्द्रसंगै सरकारी निकायहरु नै अग्रसर
सप्तपाताल पोखरी मिच्ने र मास्ने कार्यमा नमूना मच्छिन्द्रसंगै सरकारी निकायहरु नै अग्रसर देखिएका छन। सेनाको राजदल गण ब्यारेक, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय ललितपुर, जिल्ला पशुसेवा कार्यालय लगायत विभिन्न सरकारी कार्यालय सप्तपाताल पोखरीकै जग्गामा निर्माण गरिएका हुन्। यी कार्यालयले पोखरीको जग्गा कित्ताकाट गरेर लगेको देखिन्छ।

सरकारी कार्यालय र स्कुलले मिच्दा समेत नगरपालिकाले रोक्ने प्रयास गरेन। स्कुलले डिपार्टमेन्ट स्टोर बनाउन खोजेपछि उल्टा ललितपुरका मेयर चीरीबाबु महर्जनले संरक्षणमा लागेका र अतिक्रमणमा लागेका स्कुलबीच हातेमालो गर्न दबाब दिएको स्थापितले बताए। 

२०६० सालमा स्कुलले डिपार्टमेन्ट स्टोर बनाउन खोजेको र अहिले पनि बिद्यालयको भवन बिस्तार गर्ने नाममा डिपार्टमेन्ट स्टोर खोल्ने चलखेल सुरु भएको उपभोक्ता पानी दबाब समुहका प्रकाश अमात्यले दुखेसो पोखे। ‘सार्वजनिक जग्गा मासेर व्यापारिक कम्प्लेक्स बनाउन खोजेको प्रष्ट भएपनि जग्गाका दलालीको चंगुलमा परेको स्थानीय निकायले साथ नदिएको प्रति ढुंगेधारा संरक्षण समितिका अध्यक्ष शुसिल श्रेष्ठले आक्रोश पोखे। सर्वोच्चले २०६१ माघ ८ गते सप्तपाताललाई पोखरी घोषणा गरी ‘कुनै पनि किसिमको निर्माण नगर्नू’ भनी परमादेश जारी गरेको थिायो। 

सर्वोच्चको आदेशमा यो पनि भनिएको छ, ‘सप्तपाताल पोखरी क्षेत्रबाट पानी रसाएर वडा नम्बर ६, १२ र १५ मा रहेका ढुंगेधारामा जाने भएकाले सार्वजनिक खानेपानी आपूर्तिको मुख्य स्रोत हो। यस्तो ठाउँमा विद्यालय भवन निर्माणले पोखरी र वरिपरिको वातावरणमा प्रभाव पर्नेछ।’यस पोखरीका बिषयमा सर्बोच्चमा अझै मुद्दा बिचाराधिन नै छ। 

कुनै समय चौध रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई पुरानै स्वरूपमा फर्काउन गाह्रो छ। स्थानीयले नयाँ योजना अघि सारेका छन्। अशोक स्तूप र वरिपरिको क्षेत्र सरसफाइ गरेर सहरी बोटबिरुवा रोपिनेछ। त्यसलाई पार्कका रूपमा विकास गरिनेछ। त्यही पार्क बीचमा छ–सात रोपनी क्षेत्रफलको पोखरी बनाउने योजना छ। यसका लागि पोखरी संरक्षणकर्मी भने सर्वोच्चको फैसलाको प्रतिक्षामा छन।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ