देशभरका मुख्य नदीहरुको अवस्था के छ ? काठमाडौंका नदीहरुले सतर्कता तह पार गर्नसक्ने  

प्रकाशित मिति : २०७६ असार २२ आइतबार

काठमाडौं । बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा धेरै नदीहरुमा खतराको घण्टी बज्ने भएपनि आईतबारभने कुनैपनि नदीहरुमा त्यस्तो अवस्था नदेखिएको जलविज्ञान महाशाखाको बाढी पूर्वानुमान ईकाईले जनाएको छ । 

महाशाखाले हरेक दिन सार्वजनिक गर्ने देशभरका प्रमुख नदीहरुको बाढीको अवस्थालाई मध्यनजर गर्दा आज देशैभरका प्रायस् नदीनालाहरुमा पानीको बहाब बढ्दो क्रममा रहने बताईएको छ । जस अनुसार कोशी नदीको माथिल्लो जलाधार क्षेत्र ‍- तमोर, अरुण, दुधकोसी, तामाकोशी, सुनकोशी लगायत सबैमा आज मध्याह्नपछि भोलिसम्मै बहाब उल्लेख्य बढ्ने तर सतर्कता तह तलै रहने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती नदी जलाधार क्षेत्रमा समेत बहाब बढ्ने र काठमाडौं उपत्यकाको क्षेत्रमा शाखा नदीहरुले साँझ पछि सतर्कता तह पार समेत गर्न सक्ने चेतावनी महाशाखाले दिएको छ । नारायणी जलाधार क्षेत्रको त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकी सबैमा बहाब उल्लेख्य बढ्ने भएपनि तर सतर्कता तह तलै रहने बताइएको छ । 

पश्चिम राप्ती, बबई र भेरी नदी जलाधार क्षेत्रमा राती पछि बहाब सतर्कता तह नजिक पुग्न सक्ने बताइएको छ । कर्णाली तथा महाकाली नदीमा पानी बहाब उल्लेख्य बढ्ने तर सतहको तह भन्दा तलै रहने जानकारी पनि महाशाखाले जनाएको छ । सातैप्रदेशको चुरे तथा पहाडी क्षेत्रको स(साना खोलानालाहरुमा आकस्मिक बहाबको जोखिम देखिन्छ । खासगरी प्रदेश १, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशको चुरे क्षेत्रको खोलानालाहरुमा आकस्मिक बहाब हुने सम्भावना छ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ