'अचानक विप्लव समूहले गोली प्रहार गरेपछि जवाफी फायरमा ओखलढुङ्गा इञ्चार्जको मृत्यु'

प्रकाशित मिति : २०७६ असार २५ बुधबार

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।

आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए। उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा आज ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उक्त समूहका अन्य चार-पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ