आमालाई नदेखेपछि छोराले गरे सोधीखोजी, बाबुले ड्रममा लुकाएको भेटियो शव

प्रकाशित मिति : २०७६ असार २६ बिहिबार
फाइल तस्विर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ ।

श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए ।

सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताए।

 मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

नयाँ