कांग्रेस बैठक बस्दै, यी हुन् दर्जन भन्दा बढी एजेण्डा 

प्रकाशित मिति : २०७६ असार २७ शुक्रबार

काठमाडौं । नेपाली काग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । असार २२ गते आइतबार १४ वटा एजेण्डा मात्र प्रस्तुत गरेर रोकिएको बैठक पाँच दिनपछि पुनः बस्न लागेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकको प्रमुख एजेण्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउने रहेको छ ।

बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुनेछ ।

केन्द्रीय अनुशासन समितिले कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भातृ संघ आदिबारे बैठकले निर्णय लिनेछ । 

काँग्रेसमा तल्लो तहको संरचना निर्माण गर्दा १३ औं महाधिवेशनको बाँकी अवधिको लागि तदर्थ समिति बनाएर नेतृत्वमा मनोनित गर्नुपर्ने एकपक्ष नेताहरुको भनाइ छ भने अर्कोपक्षले निर्वाचनबाटै नेतृत्व छान्नुपर्ने अडान लिँदै आएका छन् ।

गत आइतबारको बैठकमा पनि महाधिवशेनको प्रसंग उठेपछि सभापति शेरबहादुर देउवाले बैठक पाँच दिन पछाडि सारेका थिए । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ