arrow

अब रहेन ज्यानमारा सडक

logo
जमुनावर्षा शर्मा,
प्रकाशित २०७६ असार २७ शुक्रबार
pokhara-baglung.jpeg

चिप्लेढुङ्गा । गत आवमा १९ जनाको सडक दुर्घटनाका कारण ज्यान गएपछि पोखरा–बागलुङ जिरो किलोमिटरको सडकको रुप यतिबेला फेरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को पहलमा  राखिएको डिभाइडरलगायत पूर्वाधारको विकासले दुर्घटनालाई न्यूनीकरण गरेपछि स्थानीयवासी निकै खुशी छन् ।

 सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ सेन्टिमिटरको उचाइ) निर्माणसँगै सौर्यबत्ती जडान र  सडक चौपायाको उचित व्यवस्थापन गर्नाका साथै वडा ट्राफिक प्रहरी पोष्टमार्फत निगरानी बढाइएपछि दुर्घटना न्यूनीकरण भएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

नेपालीका अनुसार ६ लेनको आधुनिक सडकमा डिभाइडर नहुँदा चालकले जथाभावी तीव्र गतिमा सवारी हाँक्ने   तथा ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका थिए । “सडकको स्तरोन्नती भयो तर चालकहरुको लापरवाहीले दुर्घटना डरलाग्दो बन्दै गयो । अहिले पाँच महिना यता डिभाइडरलगायत पूवर्वाधारले दुर्घटना  कम भएको छ भने मानवीय क्षति हुने गरी दुर्घटना भएको छैन”, नेपालीले भने “डिभाइडरमा ट्राफिक कलर लगाउनुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि आमा समूह र विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

अत्यधिक दुर्घटनाका कारण मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सडकलाई ज्यानमारा सडक नाम राखिएको थियो ।  अहिले सुरक्षित सडकका लागि सबैले पहल थालेपछि त्यो  नाम हटेको छ ।

“जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको उक्त सडक झण्डै तीन किमीको छ । अहिले नौ सय मिटरमा डिभाइडर राखिएको छ ”, वडा सदस्य अञ्जु क्षेत्रीले भने “अहिले दिनहुँ हुने दुर्घटनाम कमी आएको छ ।” केन्द्रीय सडक परियोजनाको बहुवर्षीय योजनाअन्तर्गत रु ७८ लाखमा बोलपत्र आह्वान गरेर काम थालिएकामा चालु आवमा डिभाइडर राखिएको क्षेत्रीले जानकारी दिए ।

 सडक छेउमा इलेक्ट्रोनिक पसल गर्दै आएका दीनबन्धु भुर्तेलले  पनि डिभाइडरलगायत पूर्वाधार बनेपछि ठूलो र मानवीय क्षति हुने खालका दुर्घटना देख्नु नपरेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ