arrow

पहिराले घर बगाउँदा बेपत्ता भएका तीनको शव भेटियो

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
dead2.jpg

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो ।

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ