arrow

तेल खन्याएर आगो लगाई श्रीमती र छोरा मार्न खोज्ने लम्साल पक्राउ

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
pakrau-new.jpeg

धादिङ  । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँबासीले उद्धार गरेका थिए ।

रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नावालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेपछि बाँच्न सफल भएको घाइते विमलाले बताइन् ।

विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छातीमा गहिरोसँग पोलेको छ भने जेनिसको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ । घाइते आमा, छोराको जिल्ला अस्पतालले एकीकृत सङ्कट व्यवस्थापन प्रणालीअन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए।

पक्राउ गरिएका लम्साललाई ज्यान मार्ने उद्योगअन्र्तगत  अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ