शत्रु राष्ट्रलाई पनि गर्न नहुने व्यवहार भारतले गरिरहेको छः गगन थापा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1.7k
Shares
प्रकाश धौलाकोटी, तेह्रथुम । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतले गरिरहेको अघोषित नाकाबन्दी मानवता विरोधी अपराध र नेपालको नैसर्गिक अधिकारको प्रतिपक्षमा भएको बताएका छन् । उनले अहिले भारतले असल छिमेकीले गर्ने नभई एउटा राष्ट्रले अर्को शत्रु राष्ट्रलाई पनि गर्न नहुने व्यवहार गरिरहेकोे बताए ।
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा नेपाल प्रेश युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले नाकाबन्दीका कारण ठुलाठालुलाई खासै असर नगरेपनि सर्वसाधारण सबैभन्दा मारमा परेकाले तत्काल समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरे । कांगे्रसका केन्द्रिय सदस्य तथा सांसदसमेत रहेका थापाले सरकारले अहिले नाकाबन्दीको विषयलाई अन्तरािष्ट्रयकरण गरेर राम्रो प्रयास गरेको भन्दै सही कामका लागि कांग्रेसले प्रतिपक्षमै रहेर पनि सहयोग गर्ने बताए ।
नेता थापाले पछिल्लो समय एमाओवादी छाडेर नयाँ शक्ति निर्माणमा जुटेका बाबुराम भट्राईको नयाँ शक्तिमा संचारमाध्यममा आएजस्तो आफ्नो सहमति वा बेमति नरहेको बताए । नेता थापाले कुनै पार्टीमा वर्षौसम्म काम गरेर गलेका थाकेका नेताले नयाँ शक्तिको निर्माण गर्लान् भन्ने आफुलाई विश्वास नभएको बताए ।
यसैबीच नेपाली कांग्रेस लालीगुराँस नगरसमितिको कार्यालयको उद्घाटन तथा नगरसमितिको घोषणा कार्यक्रम पनि बुधबारै सम्पन्न भएको छ । कांग्रेस केन्द्रिय सदस्य तथा सांसद गगन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाले अर्जुनबाबु माबुहाङको सभापतित्वमा ६५ सदस्यीय नगरसमितिको घोषणा गरे ।
कार्यक्रम सुरु हुनअघि सयौँको संख्यामा उपस्थित कांग्रेस कार्यकर्ताले नाराजुलुस सहित बजार परिक्रमा गरेपछि प्रमुख अतिथि थापाले नगरसमितिको कार्यालयको उद्घाटन गर्नुभएको थियो कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सासद गगन थापा, कांग्रेस महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम नगरसमितिका सभापति अर्जुनबाबु माबुहाङको अध्यक्षतामा सम्पन्न भएको हो ।