‘बलियो नेपाल’ अभियानमा वाइवाईलाई समावेश गर्ने योजना छैन – चौधरी फाउन्डेशन
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
640
Shares
काठमाडौं । विगत केही दिनदेखि केही सञ्चार माध्यममा ‘बलियो नेपाल’ अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै ‘वाइवाई चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गराउने कुनै योजना नरहेको प्रष्ट पारेको छ । विगत ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन । साथै, चौधरी फाउन्डेशनद्वारा संचालित कुनै पनि क्रियाकलापहरुमा कुनै किसिमको व्यवसायिक गतिविधीहरु संचालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’, चौधरी फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनले अगाडि भनेको छ, ‘बलियो नेपाल, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्था हो जुन नेपालको नागरिक समाजका अग्रजहरु नेतृत्वकर्ता रहको स्वतन्त्रबोर्डद्वारा संचालित छ ।’
नेपालमा बलियो नेपाल अभियानको सुरुवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिकास्थित बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायताप्रदान गरेको हो ।
फाउन्डेशनले भनेको छ, ‘विभिन्न निजी क्षेत्रका सरोकारवालाहरूसँगको बृहत छलफल, गहनबजार अध्ययनका साथै विशेषज्ञहरुद्वारा विभिन्नआर्थिक एवं सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको खानपिन सम्बन्धीव्यवहार तथापोषण स्तर बुझ्ने प्रयत्न पश्चात सम्बन्धित क्षेत्रका विज्ञ तथा समाजका प्रभावशाली व्यक्तित्वहरु एकजुट भई प्रारम्भ गरिएको यस अभियानको विधिवत रुपमा गत नोभेम्बर १, २०१९ सुरुवात भएको हो ।’
यस कार्यक्रम मार्फत कुपोषण र अदृष्ट भोकबिरुद्धको राष्ट्रिय अभियानलाई थप योगदान पुर्याउन पाएकोमा गौरवान्वित भएको पनि फाउन्डेशनले भनेको छ ।