arrow

कोभिड-१९ विरुद्ध चौधरी फाउन्डेसनको अभियान

प्रदेश ५ को अन्तर्गतका क्वारेन्टाईनमा प्रयोग हुने

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
chaudhary-group1.jpg

काठमाडौं । चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र उपचारका लागि अत्यावश्यक सामग्री वितरण गरेको छ । अहिलेसम्ममा प्रदेश नम्बर ५ का ९ वटा स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन उपकरणलगायत सामग्री हस्तान्तरण गरिसकिएको र प्रदेश १, ६ र ७ मा बिहीबारसम्ममा वितरण गरिसकिने फाउन्डेसनले जनाएको छ ।

अत्यावश्यक सामग्री वितरण गरिएका स्वास्थ्यसंस्थामा पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) छन् ।

फाउन्डेसन अध्यक्ष चौधरीले ट्विट गर्दै भनेका छन्, “हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता भनेको विभिन्न अस्पताल र ठाउँ-ठाउँका क्वारेन्टाइन, आइसोलेसन सेन्टरहरूको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्रीले सुसज्जित गर्नु हो । सबैभन्दा पहिले उपचारमा क्रियाशील रहने स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गरी उनीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु आवश्यक थियो । चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ ।”

जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर फाउन्डेसनले हेल्पलाइन पनि शुरु गरेको छ । आवश्यकताका आधारमा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न फाउन्डेसनले आग्रह गरेको छ ।

अहिले देखिएको कोभिड-१९ परीक्षण किट अभावप्रति अध्यक्ष चौधरीले चिन्ता व्यक्त गरेका छन् । “हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं,” उनले भनेका छन्, “ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।”

त्यससँगै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया पनि शुरु गरेको फाउन्डेसनले जनाएको छ । 

“मुलुकभर यी उपकरणको अभाव देखिएको छ । बाहिरबाट उपकरण आयात गर्नुको विकल्प हामीसँग छैन । सँगसँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ । त्यसैले त्यस्ता जनशक्तिको अभिमुखीकरणका लागि हामी सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं,” चौधरीले भनेका छन्, “आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो । संक्रमित बिरामी उपचारको ठूलो अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो । यसतर्फ चौधरी फाउन्डेसन अत्यन्तै सजग र संवेदनशील छ । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ