लम्कीमा राहत लिएका पुरुष भन्छन्-‘हाम्रो कार्यकर्ता पनि छन्, सबैलाई बधाई'
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
465
Shares
लम्की । सरकारले कोरोना भाइरसलाई लिएर लकडाउन घोषणा गरेपछि अति विपन्न तथा दैनिक ज्यालादारी गरी खाने मजदुर मारमा परेका छन् । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएपछि उनीहरुलाई दैनिकी कटाउन मुस्किल भईरहेको छ ।
लकडाउन पछि समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने नाममा स्थानीय तहमा जनप्रतिनिधिले भोट बटुल्ने मेसो बनाएको आरोप समेत लाग्दै आएको छ । यति नै बेला कैलालीमा एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । भिडियोमा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयबाट राहत बुझेर फर्किदै गरेका एक स्थानीयसंग कुराकानी गरिएको छ ।
नवराज खनाल भनिएका ती व्यक्तिलाई राहत पाउँदा कस्तो महसुस गरिरहनुभएको छ ? भनेर सोधिएको छ । जवाफमा उनले भनेका छन्, ‘एकदम ठीक छ, वडाध्यक्ष ज्यू पनि आउनुभएको छ, प्रशासन पनि छ, हाम्रो कार्यकर्ता पनि छन्, सबैलाई मिलेको छ । एकदम ठीक छ, बधाई छ ।’ फेरी ती व्यक्ति सोध्छन्, त्यसो भए अब दैनिक ज्यालादारी गरीखाने उहाँहरुले राहत पाईरहदा के छ तपाईको विचार, सन्तुष्ट हुनुहुन्छ नी ? तर उनी ‘एकदम ठीक छ, भईहाल्यो’ भनेर त्यहाँबाट निस्कछन् ।
नगरपालिकाबाट ३० किलो चामल, दुई किलो दाल, दुई–दुई पोका नुन र तेल राहत लिएका तीनै खनालले हामीसंगको कुराकानीमा भने, ‘नगरपालिकाले राहत त दियो तर के गर्नु हजुर ९ जनाको परिवार छ सकिनै लाग्यो ।’
यो भिडियोले जनप्रतिनिधिहरुले विपत्तिका बेला समेत कतै कार्यकर्तालाई मात्र राहत वितरण गरिरहेका त छैनन् ? भन्ने प्रश्नलाई मलजल गरिदिएको छ । उनीहरुले आवश्यकता र प्राथमिकता क्रम निर्धारण नगरी भोट बटुल्न मात्र राहतलाई सिमित राखेका त छैनन् ? तर वडा नम्बर ४ का अध्यक्ष लालबहादुर बोगटीले भने राहतमा मतदाता र कार्यकर्ता मात्र हेरिएको आरोप स्वीकार गरेनन् ।
उनले नगरपालिकाले बनाएको मापदण्ड अनुसार नै आवश्यकताका आधारमा राहत वितरण गरिरहेको बताए । उनले नगरपालिकाले राहत वितरण गर्दा कच्ची घर भएका, पाँच कठ्ठा भन्दा कम जग्गा भएका, सरकारी जागिरे नभएका तथा दुईजना व्यक्ति सामाजिक सुरक्षा भत्ता नलिने परिवार र दैनिक ज्यालादारी गुमेका परिवारलाई मात्र राहत वितरण गरिरहेको बताए ।