लकडाउनको २५ औं दिन बिहानै ११४९ जना पक्राउ, १०७ गाडी नियन्त्रणमा
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
230
Shares
काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ५ गतेसम्म आइपुग्दा २५ औं दिनमा चलिरहेको छ ।
सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ । र्यापिड टेष्टमा केही थपिएका छन् ।
परीक्षण चलिरहँदा अझै थपिने अनुमान गरिएको छ । विदेशबाट आएकाहरु सबैले परीक्षण नगरेका कारण पनि कोरोनाको संक्रमणको सही तत्थ्य बाहिर नआएको हो ।
अहिलेसम्म कोरोना आशंका गरेर आइसोलेसनमा राखिएकाहरु १०३ जना भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ ।
अहिलेसम्म ७ हजार २४० जनामा कोरोनाको स्वाब परीक्षण भएको छ । र्यापिड टेष्ट भने १० हजार पुगिसकेको छ ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएका स्वाब परीक्षणमा नेगेटिभ देखिएका छन् ।
त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ ।
लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शुक्रबार बिहान ९ः१५ बजेसम्म ११४९ जनालाई प्रहरीले होल्डमा लिएको छ । जसमा काठमाडौं जिल्लाबाट ९२१, ललितपुरबाट १७७ र भक्तपुरबाट ४४ जना रहेका छन् ।
त्यस्तै १०७ सवारी साधन नियन्त्रणमा लिइएको पनि रानीपोखरीले जनाएको छ ।
सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।
बिहीबारदेखि अलि बढी नै कडाइ गरिएको छ । अनावश्यक पास दिइने छैन । मृत्युसंस्कारमा जाने परिवारका मानिसलाई बाहेक अरु कसैलाई पनि पास नदिने प्रहरीले जनाएको छ ।
बिना सवारी हिँड्नेलाई पनि कार्वाही गरिने भएको छ । मुद्दा समेत चलाउन सकिने भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनसार बिहीबार ६०६ सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो ।