arrow

महामारीमा अपाङ्गगतालाई ध्यान दिन आग्रह

logo
रासस,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
disabled.jpg.png

चिप्लेढुङ्गा। कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको वर्तमान अवस्थामा  उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा अपाङ्गगतामैत्री नीतिअनुरुप समावेशीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरेको  हो।

गण्डकी प्रदेशका ८५ वटै स्थानीय सरकारलाई अपाङ्गता भएका व्यक्तिको अवस्थाको जानकारी लिएर सोहीअनुरुपको न्यायोचित कदमका लागि आग्रह गरिएको संघका गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जानकारी दिए।  “अपाङ्गगता भएका व्यक्तिहरु सधैँ जोखिमको अवस्थामा रहेका हुन्छन्, अहिलेको अवस्था झन् जटिल छ। उनीहरुमा थप समस्या आउन नदिन ८५ वटै स्थानीय तहले अपाङ्गतामैत्री नीतिमार्फत ध्यान दिन जरुरी छ।”

उनले विशेष गरी अपाङ्गता भएकाहरुलाई घरभाडा, रासनपानी र आवश्यक सरसफाइका सामग्रीमा समस्या देखिएको बताए। “अतिअशक्तहरुलाई विशेष सहयोगीको आवश्यक पर्ने हुन्छ तर अहिले भौतिक दूरीका कुराले सहयोगीसमेत पाउन गाह्रो छ, अपाङ्गता भएकालाई  अहिलेको अवस्थामा सरकार भएको अनुभूति गराउन जरुरी छ”, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी वित्तीय संस्थाले न्यूनदृष्टियुक्तलाई ‘डिजिटल एप’ चलाउने व्यवस्था नगरेकाले अहिले बैंकमा बचत गरिएको रकम समेत निकाल्न नपाइएको उनको भनाइ छ।  शर्माले सञ्चारमाध्यमलाई पनि अपाङ्गता भएकाहरुको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन पहल गरिदिनसमेत आग्रह गरे।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ