२२८ बेलायती चार्टर्ड विमानबाट फर्किए घर, एयर अरेबियाको कार्गो जहाज आउदै


प्रकाशित

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।
    
लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो । 
    
यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि आजैसाँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने एकिन विवरण आएको छैन । जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ ।
    
आज विहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाईड बडी ए३३० जहाजले चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए । दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन् ।
    
आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् । आजै दिउँसो यती एयरलाइन्सको जहाजले ३७ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ । 
    
सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो ।  श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ । अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ । यसअघि पनि श्रीले काठमाडौँ–सुडानमा कार्गो उडान गरेको थियो ।


प्रतिक्रिया :

नयाँ