arrow

छाडा कुकुरलाई खाना र पानी

logo
प्रकाशित २०७७ वैशाख ६ शनिबार
dog-road-corona.jpg

पेमा लामा। बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारीले बजार क्षेत्रमा छाडा छाडिएका सामुदायिक कुकुरलाई खाना (बिस्कुट, पाउरोटी, केक) र पानी खुवाउँदै आएको करिब २५ दिन भयो। उनले हरेक दिन बनेपाका विभिन्न ठाउँमा पुगेर छाडा कुकुरलाई बिस्कुट, पाउरोटी, केकलगायतका खाना र पानी दैनिकरूपमा ख्वाउँदै आएका छन्।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण खानाको अभावमा छटपटाइ रहेका छाडा कुकुरलाई बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारी र रोहित श्रेष्ठले खाना र पानीलगायतको व्यवस्था गर्दै आएका छन्। करिब तीन साता अगाडिदेखि उनीहरूले सडकका विभिन्न ठाउँ र खम्बामा भाँडासमेत झुण्ड्याएर अरुलाई पनि अभियानमा साथ दिन प्रेरित गर्दै आएका हुन्। त्यससँगै सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मान्छेलाई समेत खानाको व्यवस्था गर्दै आइरहेको अधिकारीले बताए।

घर, पसल र होटल बन्द भएपछि छाडा रहेका ती पशु चौपायले खाना र पानीसमेत नपाउने अवस्था देखेपछि खाना र पानीको व्यवस्था गर्दै आएको सर्वश्री अधिकारीले बताए। बजार क्षेत्रमा भेटेका जतिलाई ख्वाउने र नभेटेकालाई पछि खान मिल्ने गरीे भाँडामा हालेर बिजुली र अन्य खम्बामा बाँधेर राख्ने व्यवस्था मिलाएको उनले बताए।

“बनेपाको पुलबजारदेखि बुडोलसम्म र पनौतीको ढलमलेसम्मका बजारक्षेत्रमा रहेका कुकुर, गाईलगायतका पशु चौपायलाई खाना र पानीको व्यवस्थापन गर्दै आएका छौँ”, उनले भने, “घर पसल र होटल बन्द भएपछि खाना नपाएर छट्पटिएर बसेका प्राणीको प्राण धान्नका लागि यो अभियान चलाएका हौं।”

“आफ्नो ज्यानको कसलाई पो माया नहोला र ? त्यो पनि यस्तो महामारीको बेलामा । तर यी भोक र प्यासले छट्पटिएका सडकमा आश्रित मानव तथा पशुपक्षीलाई पनि त केही गर्नुपर्‍यो नि होइन त ?”, उनले भने, “प्रशासनसित अनुमति लिएर हामी सुरक्षित भएर बजारका विभिन्न ठाउँमा पुगेर यस्तो काम गर्दै आइरहेका छौं।” बनेपामा अहिले त धेरै मानिसले पनि पशुपक्षीलाई दानापानी दिन थाल्नुभएको उल्लेख गर्दै उनले अरुले पनि यसको सिको गर्दै अगाडि बढ्न आग्रह गरे।

त्यसका लागि बनेपाको बाहिरी र भित्री सडक छेउमा रहेको खम्बामा करिब ८० ठाउँमा त्यसरी भाँडा झुण्ड्याएर राखिएको छ। ती ठाउँमा बेकरीले बचेको पिठो बनाएर दिइरहेका छन्। आफूहरूले चलाएकोे अभियानमा बाटोमा हिँड्नेले पनि रु २०० देखि रु एक हजार सहयोग गरेको अधिकारीले बताए। ‘प्रोजेक्ट डक फिड’ नाम दिएर चलाएको अभियानमा नगरपालिकाले साथ दिएमा छाडा चौपायले बाँच्न पाउने अधिकार प्राप्त गर्ने उनको भनाइ छ।

त्यसरी काम गरेर हिँड्दा परिवारले जोखिम मोलेर काम नगर्न आग्रह गरिरहे पनि छाडा पशुले पनि जिउन पाउने अधिकारलाई सुनिश्चित गर्न मैले निरन्तर सहयोग गर्दै आएको उनले बताए। “हाम्रो कामलाई देखेर धेरैले म्यासेन्जरमा र प्रत्यक्ष भेटेर कुराकानी गरेर नगद र सामान दिएर सहयोग गर्दै आइरहुनभएको छ”, उनले भने, “यो अभियान बन्दाबन्दी नखोलेसम्म जारिरहनेछ।” ग्लोब्स, मास्क र स्यानिटाइजर प्रयोग गरेर त्यसरी काम गरिरहेका छन्। त्यसरी हिँड्दा अलि असुरक्षित महसुस हुने भएकाले आफूहरूलाई पनि कतैबाट व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भएमा राम्रो हुने उनको भनाइ छ।

उनीहरूको काम देखेर शुक्रबार ज्योति लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रशिला सिग्देल तिमल्सिनाले तीन बाक्सा बिस्कुट सहयोग गरे। सामुदायिक पशुलाई बन्दाबन्दीको बेलामा पनि खाना र पानी ख्वाउँदै गरेको देखेपछि आफ्नो तर्फबाट सानो सहयोग गरेको उनले बताए। नेपाल एनिमल एण्ड वेलफेयर रिसर्च सेन्टरका प्रतिनिधि रोहित श्रेष्ठका अनुसार बनेपा नगरभरिमा करिब दुई हजारभन्दा बढी कुकुर रहेका छन्।

यसैगरी पनौती नगरपालिका पशुपक्षी शाखाको आयोजना र नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको संयोजनमा पनौती नगरभित्रका सामुदायिक कुकुरलाई खाना र पानीको व्यवस्थापन गर्दै आएको जनाएको छ। शाखा प्रमुख मणि सापकोटाका अनुसार नगरपालिकाभित्रका सबै बजार क्षेत्रमा सामुदायिक कुकुरलाई खानापानीको व्यवस्था गरिरहेको छ। “उहाँहरूसँग ज्ञान र स्रोत साधन पनि भएकाले नेपाल एनिमल वेलफेयर रिसर्च सेन्टरको सहयोगमा नगर पशुपक्षी शाखाले पशु चिकित्सकसमेत पठाएर गर्नुपर्ने काममा आवश्यक सहयोग गरिरहेका छौ”, सापकोटाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ