arrow

लकडाउनको चुनौती : लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै

logo
चन्द्रकला भण्डारी,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
drugs.jpg

भद्रपुर। कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन्। पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ।

दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७०१९ नंको कार लिएर काँकडभिट्टा आइपुगेका थिए। आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो। तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई  शङ्का लाग्यो। केरकार गर्दा दुवैजना लागुऔषध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए।

हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ। मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा लागुऔषधका कारोवारी र प्रयोगकर्तासमेत छन्। बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो। दुईजना लागुऔषधका प्रयोगकर्ता केही दिनअघि क्वारेन्टाइनको झ्याल फोरेर राति भागेका थिए।

यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती र अस्थायी शिविर छ। सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिले असफल प्रयास भने गरिरहेकै छन्। काँकडभिट्टापारि भारतको पानीट्याङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागुऔषध नेपालतिर आपूर्ति गर्ने अखडाहरु छन्। पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको बताइएको छ।

नाकाबाट आवतजावत ठप्प भएपछि लागुऔषधका कारोवारीले नयाँ नयाँ जुक्ति प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्रहरीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताए। उनले खोलामा नुहाउने बहानामा लागुऔषध वारपार भइरहेको हुँदा सतर्क हुनुपर्ने बताए।

“नुहाउने बहाना गर्दै नेपालतिरबाट युवा मेची नदीमा जाने गर्दारहेछन्’’, उनले भने, “भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी लागुऔषध दिँदारहेछन्।” खोलामा नुहाउन जानेमाथिसमेत प्रहरीले हाल निगरानी बढाएको छ। भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले २५ स्थानमा अस्थायी पोस्ट बनाएका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बन्दाबन्दीको समयमा २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नियन्त्रणमा लिइएको बताए। उनका अनुसार ती सवारी साधन शङ्कास्पद लागुऔषध कारोवारीका हुन्।

उनले बन्दाबन्दीमा सुरक्षा व्यवस्था कडा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि  लागुऔषधका प्रयोगकर्ता र कारोवारी भने सल्बलाइरहेको बताए। उनले लागुऔषधका प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुनसक्ने चुनौती र समस्या समाधानका बारेमा स्थानीय सरकारसँग छलफल भइरहेको बताए। सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट परे।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा लागुऔषधको धन्धा विगतदेखि नै सञ्चालन हुँदै आएको हुँदा कारोवारको जालो बलियो हुनसक्ने अनुमान गरिएको छ। मेचीनगर–१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरीलगायत विभिन्न शहरबाट लागुऔषध खोज्दै आएका युवालाई स्थानीय टोल समितिले केही दिनअघि भाटेकारवाही गर्दै लखेटेको थियो।

लागुऔषध नियन्त्रण र प्रयोगकर्तालाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को–अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै कारणवश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए। त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्नेगरी शारीरिक र मानसिक पीडा हुने, पेट बटारिने, मांसपेशी बाउँडिने जस्ता समस्या देखा पर्ने उनले बताए।

बन्दाबन्दीको अवस्थामा लागुऔषध खानका लागि त्यस्ता व्यक्तिले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चोरी र लुटपाट गर्ने गर्नसक्ने ढकालले सम्भावना व्यक्त गरे। उनीहरुलाई स्थानीय सरकारले खोजी खोजी छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै लागू गरेको मौखिक प्रतिस्थापन विधि (ओएसटी)बाट औषधोपचार गर्ने उपाय भएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ