'विवादास्पद अध्यादेश ल्याउने सरकार प्रतिगमन उन्मुख'
प्रकाशित २०७७ वैशाख ८ सोमबार
507
Shares
काठमाडौं। कोभिड १९ को त्रासदीका कारण देश लकडाउनमा रहेकै बेला मन्त्रीपरिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णयलाई मानव अधिकार तथा शान्ति समाज प्रतिगमन उन्मुख कदमको संज्ञा दिएको छ।
संकटको यो अवस्थामा यस्तो अध्यादेश ल्याउनुपर्ने औचित्य सिद्ध हुन नसक्ने उल्लेख गर्दै संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षत विक्षत बनाउने सरकारी प्रयासको रुपमा समाजले अर्थ्याएको छ।
वर्तमान संवेदनशिल अवस्थामा राजनीतिक दल सम्बन्धी ऐन संशोधनको लागि अध्यादेश ल्याउने प्रस्ताव दुर्भाग्यपुर्ण रहेको जनाउँदै समाजका अध्यक्ष उत्तम पुडासैनीले निकालेको विज्ञप्तीमा यस्ता कदमले सरकारले संयम गुमाएको र संवेदनहिन देखिएको उल्लेख छ ।
संकटको बेला नागरिकको जीवन रक्षाका विषयमा अधिकतम केन्द्रित हुनुपर्नेमा विषयान्तर भएर सरकारले गरेको लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाजले निन्दा एवं भत्सर्ना गर्दै प्रगितमन उन्मुख कृत्यको विरोधमा एकजुट हुन पनि सबैलाई आह्वान गरेको छ।