अध्यादेशले नेकपाभित्रै भाँडभैलो, पार्टीलाई अझै सुदृढ बनाउन प्रचण्डको आह्वान
प्रकाशित २०७७ वैशाख १० बुधबार
481
Shares
काठमाडौं । सरकारले दुई वटा राजनीतिक अध्यादेश जारी गरेपछि देशमा राजनीतिक तरंग छाएको छ । त्यतिमात्र हैन ‘राजनीतिक दल’ र ‘संवैधानिक परिषद’ सम्बन्धी दुई अध्यादेश द्रुतगतिमा सोमबार जारी भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विभाजनको स्थिति देखिएको छ ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेको नेकपाभित्र एकता टुट्ने सम्भावनासमेत औंल्याइएको छ । नेताहरु आरोप प्रत्यारोपमा लागेका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमै मन्त्रिपरिषदमा पूर्व एमालेका मन्त्रीहरुले समेत पनि असहमति जनाएका थिए । तर पारित भयो ।
पूर्व माओवादी केन्द्रका मन्त्रीदेखि नेताहरुसम्मले विरोध गरिरहेका छन् । यो अवस्थाबीच पार्टी फुटनजिक पुगेको विश्लेषण भइरहेको छ ।
उक्त अवस्थालाई मध्यनजर गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा बुधबार बिहान वक्तव्य जारी गर्दै उनले ऐतिहासिक पार्टी एकतापछि पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाउँदै पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका हुन् ।
उनले यही दिशामा सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।
“७१ वर्ष लामो राजनीतिक सङ्घर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ”, अध्यक्ष प्रचण्डद्वारा जारी वक्तव्यमा भनिएको छ, “कठोर सङ्घर्षकै बलमा सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायत महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ ।”
विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै त्यसकाविरुद्ध एकताबद्व सङ्घर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा अपिल गरेका छन् ।